रानी ऐश्वर्यको सेवाभाव झल्काउने भृकुटीमण्डपमा व्यापारीकाे कब्जा
काठमाडौँ । काठमाडौँको मुख्य क्षेत्रमा अवस्थित छ भृकुटीमण्डप । जसलाई समाज कल्याण परिषद्अन्तर्गतको भृकुटीमण्डप सञ्चालन कार्यालयले सञ्चालन गर्दै आएको छ । तत्कालीन रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले भृकुटीमण्डप समाज कल्याण परिषद्लाई सुम्पिएकी थिइन् । त्यहाँदेखि नै भृकुटीमण्डपको व्यवस्थापन यही कार्यालयले गर्दै आएको छ ।
वि.सं. १९७२ मा नेपालकी बडामहारानी बनेकी ऐश्वर्य राज्यलक्ष्मी शाहको कार्य अवधि वि.सं २००१ सम्म उक्त पदमा रहिन् । तत्कालीन समयमा समाज कल्याण परिषद्की अध्यक्ष ऐश्वर्य राज्यलक्ष्मी थिइन् । समाज कल्याणलाई व्यवस्थित र नियमित सञ्चालन गर्न साथै कल्याणकारी क्रियाकलाप सञ्चालन गर्न उनले बजेट आवश्यकता भएको महसुस गरिन् । यसबारे उनले छलफल चलाइन् । प्रदर्शनी मार्गमा रहेको मण्डप क्षेत्र समाज कल्याण परिषद्को नाममा आयो भने समाज कल्याणका लागि बजेट प्राप्त हुन्छ भन्ने निष्कर्षमा पुगियो । त्यसपछि भृकुटीमण्डप २०३७ सालमा समाज कल्याण परिषद्को जिम्मामा आएको सञ्चालन कार्यालयका प्रमुख दुर्गाप्रसाद भट्टराई बताउँछन् ।
उनले भने, ‘समाज कल्याण परिषद्लाई लाई सरकारले बजेट दिँदैन । तर, परिषद्ले विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ । यसका लागि आवश्यक बजेट भृकुटीमण्डपबाट सङ्कलन हुने राजस्वबाट नै प्राप्त हुन्छ ।’
समाज कल्याण परिषद्ले समाज सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, सामाजिक सङ्घ संस्थालाई सहयोग गर्ने, आवश्यक नीति निर्माणका लागि सरकारलाई परामर्श दिने र स्वदेशी, विदेशी र अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्झौता गर्ने कामका लागि भृकुटीमण्डपबाट प्राप्त हुने रकम खर्चिँदै आएको छ ।
सुरुआती दिनमा भृकुटीमण्डप एउटा खुला क्षेत्र मात्र थियो । प्रमुख भट्टराईका अनुसार नेपाललाई चिनाउने औद्योगिक वस्तुहरूको प्रदर्शनीका लागि उक्त स्थानको प्रयोग गरिन्थ्यो । बिस्तारै विदेशी वस्तुहरूको व्यापार र प्रदर्शनी पनि यहीँ गर्न थालियो । त्यसपछि यहाँ प्रदर्शनी मात्रै होइन, अहिले त विभिन्न व्यापार सुरु भएको छ । मण्डपमा वर्षभरि नै व्यापार मेलाहरू आयोजना हुने गरेका छन् । हालसम्म वर्षमा २० फरक विधाका मेला आयोजना हुने गरेका छन् ।
यहाँ, हस्ताकला, कपडा, कृषि उपज तथा जडीबुटी, फर्निचर, विद्युतीय सामग्री, सवारी सधान, सूचना प्रविधिका साधनहरू, बैङ्क वित्तीय सेवाहरूजस्ता अनेक विषयको प्रदर्शनी तथा व्यापार हुने गरेको छ । त्यति मात्रै होइन, राजनीतिक दलका सभा सम्मेलन, अधिवेशन, विरोध प्रदर्शन जस्ता कार्य पनि यहाँ हुने गरेका छन् । तर, खास गरी यो स्थानलाई प्रदर्शनी स्थलको रूपमा सरकारले विकास गरेको छ ।
प्रमुख भट्टराईका अनुसार भृकुटीमण्डपमा प्रदर्शनी स्थल, प्रदर्शनी हल, फन पार्क, खुला बजार, फिल्म सुटिङ गर्ने बगैँचा , विभिन्न सङ्घसंस्थाका कार्यालय र खाजा पसल सटरहरू रहेका छन् ।
कार्यालयले प्रदर्शनी स्थललाई विभिन्न वर्गमा वर्गीकरण गरेर व्यापारी वा प्रयोगकर्तासँग कर सङ्कलन गर्ने गरेको छ । ठुलो हल, बगैँचा, सानो चौर, ठुलो चौर, मुलगेट अगाडिको चौर, प्रदर्शनी हल छाडिएको चौर स्थानको आधारमा कर सङ्कलन गर्ने गरेको छ । प्रमुख भट्टराईका अनुसार उक्त प्रचलनको सुरुआत रानी ऐश्वर्य राज्यलक्ष्मीबाट भएको हो । भन्छन् ‘यसको काम रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले गर्नुभएको हो ।’
मण्डप सञ्चालन कार्यालयले पनि यहाँ हुने व्यापारबाट आम्दानी त गरेको छ तर यहाँ हुने ठुलो परिमाणको व्यापारको सानो अंश वा लाभ मात्रै मण्डप सञ्चालन कार्यालयले पाउने अवस्था बनेको छ । राजनीतिक संरक्षण र शक्तिकेन्द्रको आडमा यहाँ सित्तैमा कार्यालय सञ्चालन गर्नेहरू पनि देखिएका छन् । यसले भने मण्डप सञ्चालन कार्यालय पाउनु पर्नेभन्दा निकै कम लाभ मात्रै पाएको छ । व्यापारमेला, व्यापारी तथा ठकेदारहरूले बुझाउने भाडाबाट सञ्चालन कार्यालयले वार्षिक करिब ५० लाख मात्रै संकलन गर्छ । तर, याे स्थानबाट व्यापारीले लिइरहेकाे लाभ निकै ठूलाे देखिएकाे छ ।
व्यापारिक प्रदर्शनको दृष्टिकोणले सबैभन्दा उत्तम मानिएको मण्डपको प्रदर्शनी हल पुरानो भएका कारण पनि सोचेअनुरूप आम्दानी हुन नसकेको उनी बताउँछन् । उनका अनुसार एसीलगायत स्मार्ट भवनहरू उपलब्ध नहुँदा अन्तर्राष्ट्रिय स्तरका ठुला ठुला व्यापारीहरू व्यापार प्रवर्द्धनका लागि आउन सकेका छैनन् । त्यसकारण प्रदर्शनीका लागि ठुला र स्मार्ट हलको आवश्यकता छ । यदि ठुला, आधुनिक हल बनाउन सके सबैको कल्याण हुने उनले बताए ।
पलमुनिको कपडा बजार व्यवस्थित नहटाइने
भृकुटीमण्डपको पूर्व दक्षिण पश्चिममा अहिले प्लास्टिक पालमुनिको लामो टहरोमा कपडा बजार सञ्चालनमा छ । झट्ट हेर्दा उक्त बजार त्यति व्यवस्थित देखिँदैन । यसले भृकुटीमण्डपको शोभासमेत घटाएको छ । यो बजारलाई काठमाडौँ महानगरले अन्यत्रै व्यवस्थापन गर्नुपर्ने माग पहिल्यैदेखि उठ्दै आएको हो । तर, यसमा महानगरले तदारुकता देखाएन । अहिले आएर बजारलाई यहाँबाट नहटाउने तयारीअनुसार काम भइरहेको देखिन्छ । यो बजारलाई व्यवस्थित गर्न सञ्चालन कार्यालयले योजना बनाएको जनाएको छ ।
वि.सं २०४९ सालमा खुला मञ्च टुँडिखेलमा रहेको खुला बजारलाई ३ महिनाको लागि मण्डपमा सारिएको थियो । तर, उक्त बजार मण्डपमा सरेको ३० वर्ष भइसक्यो ।
फन पार्क विस्थापन नगरिने
भृकुटीमण्डप खास गरी प्रदर्शनी स्थलको रूपमा निर्माण भएर सञ्चालनमा आएको हो । तर, यसलाई प्रदर्शनीसहित अन्य व्यापारिक प्रयोजनमा लगाउँदा समाज कल्याण परिषद्को आयमा वृद्धि हुने देखेपछि अहिले विभिन्न व्यावसायिक प्रयोजनमा यो स्थल लगाइन थालेको छ । यहाँ बालबालिकाको मनोरञ्जनका लागि सञ्चालनमा ल्याएको फन पार्कले प्रवेशद्वारमै शुल्क लिन्छ । त्यसपछि पनि भित्र बालबालिका लागि सञ्चालनमा ल्याएका मनोरञ्जनात्मक खेलहरू खेल्न प्रत्येकका लागि छुट्टाछुट्टै शुल्क असुल्ने गरेको छ । यसरी मण्डपभित्र फन पार्क सञ्चालन गर्ने कम्पनीले राम्रो आर्जन गर्ने गरेको छ । तर, भृकुटीमण्डप सञ्चालन कार्यालयले त्यसबाट राम्रो आम्दानी गर्न सकेको छैन । यहाँबाट फन पार्क हटाएर प्रदर्शनी स्थलकै रूपमा विकास गर्नु पर्ने आवाज पनि उठ्ने गरेको छ । तर, सञ्चालन कार्यालयले फन पार्क नहटाउने जनाएको छ ।
कार्यालय प्रमुख भट्टराई भन्छन्, ‘फन पार्क बालबालिकाहरूलाई खेल्नका लागि बनाइएको हो । सहरमा बढी हो हल्ला हुन्छ । त्यसो हुँदा बालबालिका यहाँ शान्त वातावरणमा रमाउन आउँछन् । बालबालिकाहरूका लागि सुरुदेखि नै नियमित रूपमा सञ्चालन हुँदै आएको छ र यसलाई निरन्तरता दिने नै हो ।’