सम्पन्न बस्तीमा १४५ घर निर्माण हुँदै

तीनै तहको समन्वयबाट मात्र  सुकुम्वासी समस्या समाधान  हुने

विराटनगर । तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्वासी समस्या समाधान गर्न देखिएको छ । तीन तहको समन्वय नहुँदा विकास निर्माणको काम समेत प्रभावित भईरहेको अवस्थामा सुकुम्वासी समस्या समाधान पनि तीन तहको सरकार बिचको समन्वयमा हुने जनाइएको हो ।

विराटनगर-१२ स्थित सम्पन्न बस्तीमा आयोजित कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्वासी समस्या समाधान गर्न सकिने जनप्रतिनिधिहरूले बताए । विराटनगर आवास परियोजनाअन्तर्गत विराटनगर-१२ को मलंवामा सुकुम्वासीकालागि घरहरू निर्माण भइरहेको छ । आवास परियोजनाको साझेदार संस्था ह्याविट्याट फर ह्युमानिटी नेपालको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकार बिचको समन्वयले मात्र काम गर्न सकिने बताएका हुन् ।

प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले महानगरलाई सुकुम्वासी रहित बनाउन सके दक्षिण एसियामै नमुना हुने दाबी गरे । उनले सम्पन्न बस्ती महानगरको महत्त्वपूर्ण परियोजना भएकाले समयमै सक्नुपर्नेमा जोड दिए । “यो परियोजनामा जसजसले सहयोग गरे पनि यसको सम्पूर्ण श्रेय र जस महानगरलाई नै जान्छ,’ कार्कीले भने, ‘तीनै तहको सरकारबीच सहकार्य भए महानगरलाई मात्रै होइन प्रदेश-१ नै सुकुम्वासीरहित बनाउन सकिन्छ ।’

विराटनगर महानगरका मेयर नागेश कोइरालाले तीनै तहको सरकारबीच समन्वय र सहकार्यबाट विराटनगरलाई सुकुम्वासी रहित महानगर बनाउने उद्घोष गरे । ५ वर्षमा १४ हजार सुकुम्वासीको व्यवस्थापन गर्ने आफ्नो लक्ष्य रहको कोइरालाले सुनाए । चुनावताका पनि सुकुम्वासी समस्या समाधान गर्छु भनेको थिएँ, मेयर कोइरालाले भने, यो बस्तीमा करिब ३ सयको व्यवस्थापन होला अझै मैले १३ हजार ७ सयका लागि घर निर्माण गर्नुछ ।

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले ह्याविट्याटले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा सम्पन्न बस्तीका घरमा एउटै रंग लगाउने अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको बताईन् । उनले सम्पन्न बस्तीका सबै घरमा एउटै रंग लगाउनु धेरै राम्रो भएको बताईन् ।

सन् २०२१ जनवरीदेखि सुरु भएको परियोजना अन्तर्गत सम्पन्न बस्तीमा १४५ वटा घर निर्माण हुनेछ । घर निर्माणका लागि महानगरपालिका, प्रदेश सांसद कोष (केदार काकी), ह्याविट्याट र उपभोक्ताको आर्थिक लगानी तथा सहारा नेपालको प्राविधिक सहयोग रहेको छ ।

प्रतिपरिवार १० धुर जग्गामा घर निर्माण भइरहेको छ । एउटा घर निर्माणमा ५ लाख १० हजार लाग्ने लगत स्टिमेटमा उल्लेख छ । हालसम्म ९७ लाखमा उपभोक्ता (क) र  ४४ लाखको लागतमा उपभोक्ता (ग) को निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै ८७ लाख रुपैयाँको लागतमा उपभोक्ता (ख) को निर्माण जारी रहेको छ । वार्षिकोत्सवका अवसरमा निर्माण सम्पन्न भएका घरहरुमा रंग लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *