संस्कृतिलाई नियाल्ने सुवर्ण अवसर ‘तमु ल्होसार’
काठमाडौँ । नेपालमा वर्षेनी तमु ल्होसारको दिन सार्वजनिक बिदा हुने गरेको छ । तमु ल्होसार के हो ? कसले–कसरी मनाइन्छ ? किन र कहाँ मनाइन्छ ? भनेर हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ । तमु ल्होसार नेपालको संस्कृति र मुल्यमान्यताको चिनारी हो । नेपाली समाजमा कला, संस्कृति र परम्परालाई जिउँदो राख्न यसको खास महत्व छ ।
दुई वटा शब्द मिलेर बनेको ‘तमु ल्होसार’ मा ‘तमु’ भनेको गुरुङ समुदायलाई चिनाउने अर्काे नाम हो । ‘ल्होसार’ भन्नाले नयाँ वर्ष भन्ने बुझिन्छ । यी दुवै शब्दलाई जोडिहेर्दा तमु ल्होसार अर्थात् गुरुङ समुदायले मनाउने नयाँ वर्ष भन्ने बुझिन्छ । तमु ल्होसार, तमु संवत् वा गुरुङ क्यालेन्डर वर्षको सुरुवात हो ।
नेपाली बिक्रम सम्बत पात्रो अनुसार तमु ल्योसार प्रत्येक पुस १५ (डिसेम्बर अन्तिम) मा मनाइन्छ । यो दिन गुरुङहरूको विशेष दिन हो । यस दिनलाई उहीहरूले धुमधामसँग पर्वका रुपमा मनाउने गरेका छन् ।
पहिले पहिले ल्होसार मनाउँदा गुरुङहरू गाउँको चोकचोकमा भेला हुन्थे । गुरुङ महिलाहरूले सुति वा मखमली चोलो, गाढा रातो रङ्गको फरिया र पुरुषहरूले भाङ्ग्रा (सेतो कपडाको कमिज जस्तो लुगा छातिमा बाँध्ने) कपडा लगाएर खानपिन र नाचगान गरी एकसाथ ल्होसार मनाउँथे ।
ल्होसारमा विशेषगरी सेल रोटी, अचार (नेपाली अचार), कोदोको रक्सि खाने गरिन्थ्यो ।
अहिले पनि विश्वभरका गरुङहरुले परम्परागत भेषभुषा पहिरिएर सांकृतिक झाँकीसहित विविध मनोरञ्जनात्मक कार्यक्रम गरेर ल्होसार मनाउँछन् । काठमाडौँ उपत्यकामा भएका गुरुङहरुले टुँडिखेलमा नाचगान गरी तमु ल्होसार मनाउने गरेका छन् । कतिपयले विभिन्न साँस्कृतिक पदयात्रा, भोजभतेर र अभिवादन साटासाट गरेर पनि मनाउने गरेका छन् ।
नेपाली जातिय इतिहासलाई हेर्दा गुरुङहरु नेपालको पश्चिम भेगमा बसोबास गरेको पाइन्छ । त्यहाँ घान्द्रुक, घले गाउँ, भुजुङ, धम्पुस जस्ता थुप्रै गुरुङ गाउँहरू छन् । ती गाउँहरूमा पनि आज तमु ल्होसार मनाइन्छ । वास्तवमा ती गाउँहरूले नै तमु ल्होसारलाई बचाइराखेका छन् । मनाई राखेका छन् । सुरक्षित गरी राखेका छन् । गुरुङहरुलाई सँस्कृतिका धनी मानिन्छ ।
यी यस्ता पर्वका कारण गुरुङ समुदाय संस्कार र संस्कृतिमा धनी छन् । हाम्रो कला, संस्कार र परम्परालाई जोगाउन यी यस्ता पर्वको महत्वपूर्ण भूमिका रहन्छ । यो दिन गुरुङ समुदायको संस्कृतिलाई नियाल्ने सुवर्ण अवसरको दिन हो ।