रोजगार मेला

अपाङ्गता भएका व्यक्ति रोजगारी खोज्दै जैन भवनमा, कतिले पाउलान् जागिर ?

विराटनगर । मोरङको मिक्लाजुङबाट आएका मनोरथ भट्टराई शुक्रबार दिउँसो विराटनगरमा रहेको जैन भवनको एउटा कुर्सीमा बसीरहेको अवस्थामा भेटिए । उनी जैन भवनको धेरै वटा स्टल मध्ये कम्प्युटर लिएर बसेका दुई कर्मचारीको छेउमै बसेर आफ्ना क्रन्दन सुनाउँदै थिए ।

अपाङ्गता भएका भट्टराईलाई विराटनगरसम्म आउन निक्कै सकस थियो । तरपनि रोजगारी पाई हालिन्छ की भन्ने लागेर आएको उनी बताउँथे । उनले त्यस स्टलमा रहेका दुई स्वयंसेवी कर्मचारीलाई आफू कम्प्युटर चलाउन सक्ने भएको कारण रोजगारी पाईन्छकी भनेर आएको सुनाउँदै थिए । उनी कम्प्युटर चलाउने तालिम लिएको कारण कसैले रोजगारी दिन्छ की भन्ने खोजीमा यहाँ आएको बताउँथे ।

यहाँ रोजगारीको खोजी गर्दै आउनेमा भट्टराई एक्ला थिएनन् । उनी जस्ता धेरै अपाङ्गता भएका व्यक्तिहरू रोजगारीको खोजीमा विराटनगरको जैन भवनमा पुगेका थिए । पहिलो पटक विराटनगरमा आयोजना भएको अपाङ्गता समावेशी रोजगार मेला २०२२ मा रोजगारी खोज्दै आउनेमा सबै अपाङ्गता भएका व्यक्ति र उनीहरूको परिवार थियो ।

शुक्रबारदेखि सुरु भएको अपाङ्गता समावेशी रोजगार मेलामा रोजगारी खोज्दै आउनेहरू मध्येका इटहरीका मानबहादुर भुजेल पनि हुन् । सामाजिक सङ्घ संस्थामा काम पाइन्छ की भनेर आएका उनी ह्वील चियरमा थिए ।

अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगार मेला आयोजना गरिएको भन्ने सुनेर आएका भुजेलले धेरै स्टलहरूमा पुगेर आफ्ना इच्छा सुनाए । अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउने र रोजगारदातासँग भेट गराउने उद्देश्यले मेला लागेको भन्ने थाहा पाएर आएको भुजेलले बताए । कम्मरभन्दा तलको भाग नचल्ने जन्मजात पोलियो भएका भुजेल सकेसम्म सामाजिक क्षेत्रमा नै काम गर्न चाहेको बताउँछन् ।

धनकुटाबाट आएका विक्रम घिमिरे अपाङ्गता भएका व्यक्तिहरूको लागि जागिरकोलागि अवसरको वातावरण बनेकोमा खुसी देखिन्थे । काम खोज्दै धेरै ठाउँ धाउँदा पनि नपाएपछि त्यसै भौँतारिएका अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो सीप, क्षमता र शैक्षिक योग्यताको आधारमा मेलामा रोजगार दाताले उनीहरूसँग अन्तरवार्ता लिने र उपयुक्त लागेको अवस्थामा त्यहीँबाट उनीहरूलाई रोजगारीको लागि बोलाउने गरिएको उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का वष्ठि उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । शुक्रबार र शनिवार दुई दिनसम्मको लागि सुरु भएको अपाङ्गता समावेशी रोजगार मेलामा १३४ स्टलहरु राखिएका छन् ।

होटल, पर्यटन, शिक्षा, अस्पताल, सामाजिक सङ्घ संस्था, मिडिया, ग्राफिक्स डिजाईन, बैँक तथा वित्तीय क्षेत्र, उद्योग र उत्पादनसँग जोडिएका ९ वटा क्षेत्रका करिब ३ सय जनालाई रोजगारी उपलब्ध गराउने गरी मेलाको आयोजना गरिएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ। गुगल फर्मको आधारमा ७ सय जनाले आवेदन दिएकोमा ती मध्ये प्राप्त भएको बायोडाटाका आधारमा छनौट भएका ३ सय जना मेलामा आएर आफ्नो विवरण सहित अन्तरवार्ता दिने गरेका छन् ।

उद्योग वाणिज्य महासङ्घ प्रदेश १, अपाङ्ग महासङ्घ, करुणा फाउण्डेशन सहित करिब आधा दर्जन सङ्घ संस्थाको आयोजनामा अपाङ्गता समावेशी मेलाको आयोजना भएको हो । मेलालाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *