रियाद पुगे रोनाल्डो (तस्बिरहरू)
काठमाडौँ । पोर्चुगिच फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको रियाद पुगेका छन् । साउदी क्लब अल नासरले अनुबन्ध गरेपछि उनी रियाद पुगेका हुन् ।
साउदी क्लबसँगको सम्झौता अनुसार उनले वर्षको २० करोड डलर पारिश्रमिक पाउने छन् । अल नासरले ३७ वर्षे रोनाल्डोलाई आज औपचारिक रुपमा सार्वजनिक गर्ने जानकारी दिइएको छ । त्यसअघि रोनाल्डोको मेडिकल जाँच हुनेछ । पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट अल नासर पुगेका हुन् ।
युनाइटेड र त्यसका प्रशिक्षक एरिक टेन हाखबारे आलोचनात्मक टिप्पणी गर्दै टेलिभिजनलाई अन्तर्वार्ता दिएपछि रोनाल्डो आलोचित बनेका थिए । त्यसपछि क्लब र रोनाल्डोबीच सहमतिमा सम्झौता भंग भएको थियो ।
रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट कुल ३४६ खेल खेल्दै १४५ गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडमा २००३ बाट २००९ सम्म खेलेर उनी स्पेनिस क्लब रियल मड्रिड पुगेका थिए । उनले मड्रिडमा २०१८ सम्म खेले । त्यहाँबाट इटालियन क्लब युभेन्टसमा तीन वर्ष खेलेर फेरि २०२१ मा युनाइटेड नै फर्किएका थिए ।