प्रदेश १ मा सरकार गठन गर्ने बारेमा दलहरू अन्यौल, केन्द्रले गर्ने निर्णय कुर्दै
विराटनगर । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने बारेमा आन्तरिक छलफल भए पनि अझै कसरी जाने भन्ने टुङ्गो लागिसकेको छैन ।
नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा मिलेर प्रदेश १ मा सरकार बनाउने भनिरहेको अवस्थामा सरकार गठन कसरी होला भन्ने आम नागरिकको चासो छ । सङ्घमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको अवस्थामा प्रदेश बाँडफाँडको कुरो कसरी होला भन्नेमा दलहरू केन्द्रको निर्णयको पर्खाइमा छन् ।
प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार बन्ने दाबी गरिएको भए पनि त्यसकालागि दलहरू केन्द्रको निर्णय पर्खिएर बसेका छन् । प्रदेश १ मा सरकार बनाउनको लागि बहुमत सहित दाबी पेस गर्न प्रदेश प्रमुखले आव्हान गरिसकेका छन् । आगामी पुस २४ गते साँझ ५ बजेसम्ममा दाबी पेस गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले आव्हान गरिसकेका छन् । उनले कुनै पनि दलको बहुमत नपुग्ने भएकोले बहुमत सहित सरकारको दाबी पेस गर्न आव्हान गरेका हुन् ।
प्रदेश प्रमुखको आव्हान सँगै दलहरूको कसरत बढेको देखिए पनि अहिलेसम्म मन्त्रालय बाँडफाँडको विषयमा छलफल निष्कर्षमा पुग्न नसकेको दलका नेताहरूले बताउँदै आएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भए पनि मन्त्रालय बाँडफाँडको बारेमा छलफल भइरहेको बताउँछन् । ‘हामी गठबन्धन भित्र केन्द्रको निर्णयलाई पनि पर्खिएर बसेका छौँ, उनले भने, दलले केन्द्रमा गरेको निर्णयलाई हामीले पालना गरेर जाने हो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले केन्द्रमा हुने प्याकेजको निर्णयका आधारमा अघि बढ्ने बताउँछन् । अहिलेसम्म आन्तरिक रूपमा छलफल भए पनि सरकारमा कसरी सहभागी हुने भन्ने बारेमा कुनै निर्णय नभई सकेको सिटौलाले मकालुखबरलाई जानकारी दिए । ‘हाम्रा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा प्याकेजमा नै छलफल गर्दै हुनुहुन्छ, उनले भने, केन्द्रमा भएको निर्णयका आधारमा हामी कसरी जाने र कुन मन्त्रालय लिने भन्ने टुङ्गो लाग्ने छ ।’ नेकपा माओवादी केन्द्रका नेताहरु पनि केन्द्रले गर्ने निर्णयको प्रतीक्षामा छन् ।
प्रदेश १ को मुख्यमन्त्रीको दाबेदार गरेर बार्गेनिङमा रहेको माओवादी केन्द्र राम्रा मन्त्रालयको हात पार्ने दाउमा रहेको छ । एक केन्द्रीय सदस्यका अनुसार, हामीले भन्दा मुख्यमन्त्रीमा दाबी गरिरहेका छौँ तर त्यो हाम्रो मुख्य सर्त हैन राम्रा मन्त्रालय पाउनु पर्छ भन्ने हो ।