कृषिप्रेमी ‘केदार बा’ : बिदेसिने युवालाई ८० वर्षे किसानकाे एक सन्देश
काठमाडौँ । भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ८० वर्षीय किसान केदार प्रधान अझै खेतबारीमा काम गर्छन् । उनलाई सबैले ‘केदार बा’ भनेर सम्बोधन गर्छन् । बिहान घाम झुल्केपछि केदार बाको दैनिकी सुरु हुन्छ । घरबाट पाँच मिनेटको दूरीमा उनको खेत छ । उनी खेतको आली आली हुँदै बाँस झ्याङसम्म पुग्छन् । बाँस झ्याङ कटेलगत्तै आइपुग्छ– केदार बाको खेत ।
साग, काउली, धनियाँ, प्याज र मुलालगायत अनेक तरकारी केदार बाकै प्रतीक्षामा आआफ्ना ठाउँमा थपक्क बसे जस्ता देखिन्छन् । सायद उनीहरू सोच्दा हुन्– ‘केदार बा आएपछि जलपान गर्न पाइन्छ । खाना पाइन्छ अनि स्याहार सुसार र गोडमेल पाइन्छ ।’
उमेरले ८० कटेका केदार बा युवा जोस निकाल्छन् । खेतका तरकारीको स्याहार गर्छन् । अनि असाध्यै खुसी हुन्छन् । किनभने, वृद्धावस्थामा पनि खेतबारीमा काम गर्नु उनको बाध्यता होइन । रुचि अनि जाँगर हो ।
उनका छोरा, बुहारी दुवै जागिरे छन् । सानैदेखि खेतबारीमा काम गर्थे केदार बा । ठुलो भएर शिक्षक पेसा अँगाले पनि उनले कृषि कर्म त्यागेनन् ।
उनी भन्छन्, ‘हामी त पहिल्यै देखि किसान हौ, खेती नै गर्छाैं । पहिले शिक्षक थिएँ, तैपनि घर नजिक भएकोले बिहान बेलुका फुर्सदको समयमा खेतबारीमा काम गर्थेँ ।’
केदार बा शारीरिक रूपले वृद्ध भए पनि उनलाई कृषिको महत्त्व थाहा छ । त्यसैले पनि यो कर्मबाट उनी वञ्चित हुन सक्दैनन् ।
कृषिको महत्त्व बुझाउँदै उनी भन्छन्– ‘हामीलाई भात, तरकारी र दैनिक जीविकोपार्जन गर्न आवश्यक खाद्यवस्तु कृषिबाट नै प्राप्त हुन्छ । कृषि नभई हुँदैन । पैसा भएर मात्रै हुँदैन । पैसा खान मिल्दैन । खानेकुरा प्राप्त गर्न कृषि नै चाहिन्छ ।’
केदार बाले करिब २ रोपजी जग्गामा काउली रोपेका छन् । खेतबारीमा जाँदा उनले तरकारी रोप्ने, पानी लगाउने, झार उखाल्ने र तरकारी बेच्ने जस्ता काम गर्छन् । नसकेको काममा खेताला (ज्यालामा काम गर्ने व्यक्ति) लगाउने गरेका छन् । आफ्ना कृषि अनुभव सुनाउँदै उनले भने– ‘पहिलेदेखि कृषिको काम गर्दै आएको हुँ । तर, पहिलेजस्तो धेरै गर्न त सक्दिन । अलिअलि गर्छु । तरकारी रोप्छु । काउली रोप्छु । साग रोप्छु । बेच्छु ।’
उनले तरकारी बेचेर राम्रै आम्दानी गर्छन् । उमेरको विवशतालाई देखाउँदै कृषिप्रेमी केदार बा भन्छन्, ‘गाह्रो कामहरू गर्न सक्दिनँ, ज्यादा हिँडडुल गर्दा गोडा दुख्छ ।’
खेतबारीमा काम गर्ने केदार बाको जस्तै रहर युवावर्गमा हुन आवश्यक ठान्छन् उनी ।
सरकारी नीति नै प्रभावकारी नहुँदा नेपालका ख्यातियोग्य जमिन बाँझो राखेर युवा शक्तिको विदेश पलायन भइरहेको छ । केदार बा जस्ता अपवाद बाहेक अधिकांशले पाको उमेरमा पनि खेतबारीमा काम गर्नुपर्ने बाध्यता छ । नत्र भएको थोरबहुत खेती पनि बन्द हुने अवस्था छ ।
केदार बाहरूकै कारण अहिलेसम्म नेपालको कृषि अलिअलि भए पनि बाँचिरहेको छ ।
विदेश गएका बाहेक नेपालमै रहेका युवा पनि कृषिमा मन लगाउँदैनन् । सकेसम्म १२ कक्षा पढेपछि नसके स्नातक पढेपछि युवाहरूको एकमात्रै लक्ष्य बन्ने गरेको छ– विदेश । सबैसम्म बढी कमाई हुने युरोपेली देशहरू, अमेरिकी देशहरू, जापान, अस्ट्रेलिया, कोरिया जाने चाहनामा हुन्छन् युवा । नसके खाडी क्षेत्रका देशहरू र मलेसिया जान चाहन्छन् ।
नेपालबाट दैनिक १ हजार ७ सय जनाभन्दा बढी नेपाली कामको खोजीमा बिदेसिने गरेको तथ्यांक वैदेशिक रोजगार विभागको छ । विभागको तथ्यांकअनुसार २०२१ जुलाई १६ देखि २०२२ जुलाई १६ सम्म अर्थात् १ वर्षमा ६ लाख ३० हजार ९० जना युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
बिदेसिएका युवाहरूलाई लक्षित गर्दै केदार बा भन्छन्– ‘कृषिमा आम्दानी छ, अहिलेका युवा पिँढीले आफ्नै देशमा खाद्यान्न, तरकारी उत्पादन गर्न सके कृषिबाट पनि राम्रो आम्दानी हुन्छ ।’
युवाहरू बिदेसिने क्रम बढ्नु, वृद्धवृद्धा खेतबारीमा काम गर्न बाध्य हुनु, खेतबारी बाँझो हुनु अहिलेको जल्दोबल्दो समस्या हो । पहाडी क्षेत्रमा ख्यातियोग्य जमिनहरू बाँझो हुँदै गइरहेकाले यसले कृषिमा नकारात्मक असर पारिरहेको छ । करेसामा सजिलै फलाउन सकिने धनियाँदेखि अर्बौँको चामलसम्म हामी विदेशबाट आयात गर्छौं । दाँत कोट्याउने सिन्कादेखि जनै जस्ता आफैँले बनाउन सकिने सामान्य वस्तुमा पनि हामी परनिर्भर छौँ । यसमा सरकारको दृष्टि पुग्न आवश्यक छ । समस्या पहिल्याउन र समाधान गर्न आवश्यक छ ।