प्रदेश १ का मुख्यमन्त्री कार्की को हुन् ?
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की झापाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । झापाको गौरदहमा वि.स. २०२१ साल असोज ११ गते जन्मिएका कार्कीले एसएलसीसम्मको अध्ययन गौरदहबाटै गरे । अनेरास्ववियुमा संगठित हुँदै कार्की २०३६ सालदेखि नै पार्टीको सम्पर्कमा रहेर काम गरेका व्यक्ति हुन् ।
नेपाल ल क्याम्पसबाट कानुनमा स्नातकोत्तर (एलएलएम) सम्मको अध्ययन पूरा गरेका कार्की अनेरास्ववियुमा पनि नेतृत्वदायी भूमिकामा थिए । नेपाल ल क्याम्पसमा स्वववियु सभापति निर्वाचित भएका कार्की २०५५ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने । अनेरास्ववियुको अध्यक्ष बनेपछि कार्की पार्टी राजनीतिमा थप व्यस्त हुँदै गए । कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीकाे सदस्य भए । २०७१ देखि २०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज भएर काम गरे ।
देश संघीयतामा गएपछि कार्की पार्टीको प्रदेश १ प्रचार विभाग प्रमुखको भूमिका निर्वाह गर्दै २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित भए । नेकपाको सरकारमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका कार्की अहिले पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका कार्की हाल स्थायी कमिटी सदस्य तथा प्रदेश १ को सहइन्चार्ज छन् ।
आइतबार उनै कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश १ मा चौथो मुख्यमन्त्रीको रूपमा कार्कीको आगमन भएको छ । आइतबार दिउँसो प्रदेशसभाका ६० जना सांसदहरूको समर्थनसहित उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का संसद्को समर्थन रहेको छ ।