माओवादी सांसदले भने- सरकारमा नजाने निर्णय ‘अप्रत्याशित’
विराटनगर । नेकपा माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएको छ । नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बालेले तत्काल सरकारमा जाने वातावरण बिग्रिएको बताए ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्री आधा आधा कार्यकाल हुने भनेपछि हस्ताक्षर गरेर प्रदेश प्रमुखकोमा पठाएर मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई समर्थन गरिएको भएपनि हिजो साँझको निर्णय त्यो विपरीत आएपछि सरकारमा नजाने निर्णय भएको आङ्बोले बताए । ‘हामीलाई भनिएको कुरा भन्दा फरक निर्णय भएर आयो, उनले भने, त्यो विषय हाम्रो प्रदेश प्रतिको अन्याय हो ।’
उनले केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै सरकारमा तत्काल सहभागी नहुने बताए । केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएको पनि उनले बताएका छन् । सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ । केन्द्रमा भएको भागबण्डा अनुसार प्रदेश १ मा नेकपा माओवादीले सभामुख र नेकपा एमालेले मुख्यमन्त्री पाएको छ ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा नजाने भनि गरेको घोषणालाई नेकपा माओवादीका प्रदेश सभा सदस्यहरूले अप्रत्याशित भएको बताएका छन् । मुख्यमन्त्री बन्ने सबैको चाहना हुन्छ, ती सांसदले भने, आफ्नो माग राख्ने कुरा जायज भएपछि केन्द्रको निर्णय मान्दिन भन्नु गलत हो । दलको बैठक नै नबसी आधिकारिक निर्णय नै नगरी सरकारमा जान्न भन्नु पार्टी विधि र सिद्धान्त भन्दा बाहिर ती सांसदको भनाई छ ।
आइतबार प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । मुख्यमन्त्री र मन्त्रीहरू सहितको शपथ आज दिउँसो २ बजेलाई तोकिएको छ । मन्त्री हुनको लागि तयार भएर आएका माओवादी प्रदेश सभा सदस्यहरू संसदीय दलका नेताको भनाइले अन्यौलता सिर्जना गरेको बताउँछन् ।
आजै नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारी र तिलकुमार मेन्याङ्बो मन्त्री बन्दैछन् । त्यस्तै राप्रपाबाट भक्ति सिटौलालाई मन्त्री बनाउने तयारी छ । नेकपा माओवादीबाट दुर्गा चापागाईँ मन्त्री बन्ने पक्का भएको थियो भनेँ जीवन आचार्य र गणेश उप्रेतीका बिचमा आन्तरिक विवाद हुँदा मन्त्रीमा कसलाई पठाउने भन्ने अन्योल देखिएको थियो । यी दुई नेता बिचको विवादले समेत तत्काल माओवादी सरकारमा नजाने निर्णयमा पुगेको हुनसक्ने बताइएको छ।