अनि पृथ्वीचोकमा पृथ्वीको शालिक ठडिएन…
पोखरा । सन् २००७ को एक विहान । मे १ अर्थात मजदुर दिवस । कम्युनिष्टहरुका लागि यो दिन बडो महत्वपूर्ण हुन्छ । तर १६ वर्षअघिको मे १ पोखराका लागि भने निकै दुखद भयो ।
पृथ्वीचोक नजिकै थियो, माओवादीको यूथ संगठन वाइसिएलको क्याम्प छ । मे १ लाई विशेष बनाउन एक हुल वाइसिएल नारा लगाउँदै पृथ्वीचोक तर्फ मोडिए । राजाको विरोध र मजदुर हक अधिकारको समर्थनमा नारा घन्कीरहेको थियो ।
एक्कासी उक्त समूह चोकको बीचमा रहेको पृथ्वी नारायण शाहको शालिक माथी उक्लियो । घन र हथौडाले टाउको, कम्मर र खुट्टामा हिर्काइयो । मिनेटभरमै शालिक भुईंमा बजारियो ।
ढलिसकेको शालिकमाथी एक एक गर्दै उनीहरुले लात्तिले बजारे । टुक्रा टुक्रा भएको शालिक पृथ्वीचोकमा त्यसपछि कहिलै ठडिएन । पृथ्वीको शालिक त्यहाँ नभएपनि पृथ्वीचोक जनजिब्रोबाट हटेको छैन ।
पछि सरकारले त्यहाँ प्रथम शहिद लखन थापाको शालिक राखेको छ । कतै बोर्डहरुमा लखन चोक नाम लेखिएपनि पृथ्वीचोक नै प्रख्यात छ । पोखरा काठमाडौँको पृथ्वी राजमार्गको सुरु विन्दु पनि यही चोक हो ।
तस्बिर : सुदर्शन रञ्जित