प्रदेश १ का मुख्यमन्त्रीले पुस २९ गते विश्वासको मत लिने
विराटनगर । प्रदेश१ को मुख्यमन्त्रीले आगामी पुस २९ गते विश्वासको मत लिने भएका छन् । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन् ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्कीले प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
प्रदेशसभाका ६० जना सदस्यको समर्थनमा कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाका ६ र जसपाका १ संसदको समर्थन छ ।
२८ गते बुधबार प्रदेश सभाको सभामुखको चयन पछि २९ गते विश्वासको मत लिन लागेका हुन् । सभामुखमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमले एकल मनोनयन दर्ता गराएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि उनको एकल उम्मेदवारी भएको हो । गौतमलाई एकीकृत समाजवादीले पनि समर्थन गरेको थियो ।
ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमको प्रस्तावकमा एमालेका रेवती रमण भण्डारी छन् भने समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु माओवादी केन्द्रका नारायण बुर्जा मगर राप्रपाका गोपाल बहादुर विश्वकर्मा छन ।