मन्त्री छान्न माओवादीलाई सकस

विराटनगर । नेकपा माओवादी केन्द्रको आन्तरिक विवादका कारण मन्त्री छनौटमा समस्या देखिएको छ । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या भएको हो । मन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा बिहानदेखि सुरु भएको प्रदेशको पदाधिकारी बैठकमा पनि आकांक्षा राख्नेहरूको सङ्ख्या धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्ने बारेमा निर्णय भएन ।

संसदीय दलले मन्त्रीमा पठाउने सांसदको नाम टुङ्गो लगाउन नसक्दा मन्त्री बनाउने विषयको बैठक पार्टीमा पुगेको हो । सांसदहरूका बिचमा अर्कोको विरोध गर्दै आफू मन्त्री बन्न मिडियाबाजी सुरु भएपछि माओवादी भित्रको अन्तर कलह सतहमा आएको । नेकपा माओवादीका एक नेताका अनुसार, आफू हुँदा मात्र ठिक अरू हुँदा सबै बर्वाद हुन्छ भन्ने लाईबाट प्रदेश सभा सदस्यहरू देखिएपछि मन्त्री छान्न समस्या भएको हो ।

प्रदेशको मन्त्री बन्नका लागि नेकपा माओवादीबाटबाट आकांक्षा व्यक्त गर्नेहरूमा दुर्गा चापागाईँ, राजेन्द्रकुमार कार्की, गीता तिम्सिना, जीवन आचार्य, कज्र्याङ शेर्पा, गणेश उप्रेती र नारायण बुर्जा मगर लाइनमा छन् । मंगलवार मुख्यमन्त्री हिकमतकुमार कार्की सहित मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी भईरहेको बेलामा माओवादीबाट दुर्गा चापागाईँलाई मन्त्रीको रूपमा शपथ ग्रहण गराउने तयारी भएको थियो । शपथग्रहणको बेलासम्म नेकपा माओवादी केन्द्र सहभागी नहुने ठाउँमा देखियो । सरकार गठन हुने दिन बिहानै संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा आधा आधा कार्यकाल माग पुरा नभएको भन्दै सरकारमा नजाने बताए ।

लगत्तै सोही दिन दिउँसो १२ बजे माओवादी केन्द्र संसदीय दलको बैठक बस्यो । बैठकले सरकारमा नजाने निर्णय गरेको र शपथ ग्रहणलाई प्राथमिकतामा नराखिएकोले शपथमा दलको तर्फबाट उपस्थिति नहुने दलका नेता आङ्बोले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । शपथ ग्रहणमा समेत नजाने बताएका आङ्बो पत्रकारसँग प्रतिक्रिया दिएको केही समय भित्रै शपथग्रहण कार्यक्रममा सहभागी हुन पुगेका थिए । बिहीबार फेरी सरकारमा कुन कुन सांसदलाई मन्त्री बनाउने भन्ने विषयलाई चर्चा पाएको छ।

प्रदेश पार्टीले समेत निर्णय लिन नसकेको नेताहरूले बताएका छन् । बिहानभरी भएको छलफलबाट आकांक्षा राख्नेहरू सबैको नाम केन्द्रीय कमिटीमा पठाइएको छ। नेकपा माओवादीले तत्काल ३ जनालाई नै मन्त्री बनाउनु पर्ने प्रस्ताव गरेपछि आजै हुने भनिएको शपथ नहुने भएको छ। एमालेले २ जना मात्र मन्त्रीमा जाने नाम पठाउन भनेको तथा माओवादीले ३ जनालाई पठाउनु पर्ने अवस्था आएपछि आकांक्षा व्यक्त गर्नेहरूको नाम केन्द्रीय कमिटीमा पठाइएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए ।

प्रदेश १ मा ९ वटा मन्त्रालय मात्र बनाउने गरी सरकारले तयारी गरेपछि माओवादीले मन्त्री पाउने सङ्ख्या पनि थोरै भएको छ। त्यसको लागि एमाले, माओवादी सहितलाई सांसद व्यवस्थापनमा समस्या हुने देखिएको छ। यस अघि नै एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्ति प्रसाद सिटौला र जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूलाई मन्त्री भईसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *