पोखरा विमान दुर्घटना : अधुरै रह्यो अञ्जुका सपना
विराटनगर । पोखरामा दुर्घटनामा परेको विमानको को–पाइलट अञ्जु खतिवडा विराटनगर निवासी हुन् । २०३५ सालमा जन्मेकी खतिवडा विराटनगरमा नै हुर्किइन् बढिन र पढिन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ५ चाँदनी चोक निवासी उनको परिवार अहिले शोकमा छ । आइतबार दिउँसो उनका आफन्तहरू जम्मा भएका थिए भनेँ परिवारका सदस्य शोकमा देखिन्थे ।
अञ्जुका श्रीमानको पनि आज भन्दा करिब १६ वर्ष पहिला विमान दुर्घटनामा नै ज्यान गएको थियो । उनका श्रीमान् दीपक पोखरेल यती एयरलाइन्सकै को पाटलको रूपमा रहेका थिए ।
बि.सं. २०६३ असार ७ गते नेपालगन्जबाट जुम्ला जाँदै गरेको विमान दुर्घटनाग्रस्त हुँदा उनका श्रीमानको मृत्यु भयो । श्रीमान्को मृत्यु भएपछि पाइलट नै बन्ने मनसायका साथ अञ्जु पाइलट पढ्न अमेरिका गइन् । करिब चार वर्षपछि अमेरिकाबाट पाइलट कोर्स पूरा गरी अञ्जु नेपाल फर्किएकी थिइन् । एसएलसीसम्म विराटनगरमा पढेकी अञ्जुले आईए भारतमा पढेकी हुन् ।
नेपाल फर्किएपछि उनी यती एयरलाइन्समा नै काम गर्न थालिन् । एक वर्ष पहिला मात्र कोपाईलट भएकी अञ्जुले क्याप्टेनको प्रमाणपत्र प्राप्त गर्न बाँकी नै थियो । यही अन्तिम उडानबाट उनले क्याप्टेनको प्रमाणपत्र प्राप्त गर्दै थिइन् तर दुर्भाग्य उनी दुर्घटनामा परिन् । उनको शव अझै फेला परिसकेको छैन ।
यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायतका विमानस्थलमा सफल उडान गरेकी अञ्जुले क्याप्टेनमा पास गर्ने यो अन्तिम उडान थियो । क्याप्टेनको प्रमाणपत्र पाउने सपना पुरा हुन पाएन । सोमबार पोखरामा दुर्घटना भएको यति एयरको एटिआर ७२ विमानमा ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा खतिवडा कोपाइलट थिइन् ।
अञ्जुकी एक मात्र छोरी अहिले क्यानडामा छिन् । श्रीमान् र श्रीमतीको एकै प्रकृतिको निधनले परिवार शोकमा छ । ‘श्रीमानको पनि जहाज दुर्घटनामा नै मृत्यु भयो, उनको पनि उस्तै नै दुखद् घटना भयो, छिमेकीले भने, श्रीमानको निधन पछि निक्कै मेहनत गरेर पाइलट भएकी थिइन् उनलाई पनि दैवले ठग्यो ।’