गण्डकीका मन्त्रीलाई न बस्ने घर, न काम गर्ने मन्त्रालय

पोखरा । गण्डकीमा ३ जना विना विभागीय मन्त्री छन् । मुख्यमन्त्री खगराज अधिकारीले शपथ खाएकै दिन ३ जना मन्त्री नियुक्त गरे । राजनीतिक कोर्स नमिलेका कारण उनीहरूको कार्य जिम्मेवारी तोकिएन । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ र एमालेकी सीता कुमारी सुन्दास मन्त्री नियुक्त भएका हुन् ।

उनीहरू मन्त्री बनेको १२ दिन पुग्यो । तर न मन्त्रालय पाएका छन्, न बस्ने निवास । माओवादीले मुख्यमन्त्री पछिको दोस्रो बरीयताको मन्त्रालय मागेको छ । मन्त्रालयको सङ्ख्या र नाम नटुंगिएका कारण दोस्रो बरीयताको मन्त्रालय कुन भन्ने टुंगो छैन । त्यसैले जिम्मेवारी लिन समस्या भएको चुमानले बताए ।

हाल १२ मन्त्रालय रहेको यहाँ मुख्यमन्त्रीले ७ वटामा झार्ने तयारी गरेका छन् । तर नेताहरूले १० वटासम्म मन्त्रालय बनाउनुपर्ने सुझाव दिएपछि मन्त्रालयको संख्यामै मन्त्रीपरिषद् विस्तार र मन्त्रीहरूको कार्य विभाजन अड्किएको छ । एमाले २२, माओवादी ८ र राप्रपा २ सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।

सत्ता गठबन्धन भित्रको दोस्रो दल माओवादीले एमालेको समान हैसियत खोजेको छ । ९ मन्त्रालय हुँदा कम्तीमा ४ मन्त्रालय चाहिने माओवादी अडान छ भने राप्रपाले पनि दुई मन्त्रालय ताकेको छ । यहाँ राप्रपाको २ सांसद मात्रै समानुपातिक प्रणालीबाट निर्वाचित भएर आएका हुन् ।

एमालेमा ५ मन्त्रालयको दाबी छ । सबैलाई मिलाउन पनि १० मन्त्रालय अनिवार्य हुने चुमान बताउँछन् । ‘कार्यक्षेत्र हेरेर मन्त्रालय तोक्ने हो । हिजो स्टाफ कलेजले लामो अध्ययन गरेर १० मन्त्रालय बनाउन उपयुक्त भन्दै सुझाव दिएको छ,’ उनले भने, ‘त्यही अनुसार गरे भइहाल्छ । त्यो भन्दा घटाउँदा कामको रिजल्ट निकाल्न गाह्रो हुन्छ ।’

मुख्यमन्त्री अधिकारीले भने मन्त्रालयको सङ्ख्या बारे सार्वजनिक कार्यक्रममा बोलेका छैनन् । तर मन्त्रालय घटाएर मात्रै मन्त्री मण्डल विस्तार गर्ने उनले बताए । ‘सङ्ख्या कति भन्ने विषय मूल होइन । मूल कुरा सङ्ख्या घटाउने हो,’ उनले भने, ‘जसरी पनि सङ्ख्या घट्छ । घटेपछि तपाईँहरूले थाहा पाउनुहुन्छ ।’

राप्रपाका गुरुङले कामको जिम्मेवारी नपाएका कारण बेकामे हुनुपरेको बताए । ‘मन्त्रालय कुन हो टुंगो छैन । मुख्यमन्त्री कार्यालयमा हाजिर गरेर कार्यक्रममा निस्किन्छु,’ उनले भने, ‘एउटा गाडी दिएको छ । न बस्ने ठाउँ छ, न काम गर्ने मन्त्रालय छ ।’ उनले छिटो कार्य विभाजन टुङ्ग्याउन मुख्यमन्त्रीलाई आग्रह गरे ।

अहिले मन्त्रीहरूले मन्त्रालय मात्रै होइन, बस्नका लागि सरकारी निवास पनि पाएका छैनन् । मन्त्री सीता सुन्दास अहिले पनि लेकसाइड स्थित चारतारे होटलमा बस्छिन् । चुमान आफ्नै डेरामा बसिरहेका छन् भने गुरुङ घरबाटै आउजाउ गर्छन् । मुख्यमन्त्री अधिकारी भने केही दिनअघि सरकारी निवास सरेका छन् । कार्य जिम्मेवारी तोकेपछि मात्रै निवासको व्यवस्था गरिने सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *