वैभवशाली नेपाली संस्कृतिमाथि विदेशी हस्तक्षेप बढ्दै छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैभवशाली नेपाली संस्कृतिमाथि विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन् । २८५९ औँ सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् । तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरु लोप भएर जादैँछन् । मानव सभ्यता मर्दैछ । अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ । यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’
‘आजबाट सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योईरतावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।
उनले नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल भएको बताए ।
‘यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दाबढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्,’ उनले भने, ‘यहाँ बसोबास गर्ने सबै जात्जिातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।’
प्रधानमन्त्रीले थपे, ‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो। यही पद्धति अँगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको)ल्होसार पनि भन्दछन् ।’
प्रधानमन्त्री प्रचण्डले ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र सारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष रहेको र यो परम्परामा विभिन्न बाह्र वटा पशुपंछीको नामबाट १२ ल्होको नाम राखिएको बताए ।