प्रदेश १ मा गाँजाको कारोबार, बसका चालकसहित ६ जना पक्राउ
विराटनगर । धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट ठुलो परिमाणको गाँजा सहित ६ जना पक्राउ परेका छन् । प्रहरीले ९० किलो १०० ग्राम लागु औषध गाँजा सहित ६ जनालाई पक्राउ गरेको हो । कोशी लोकमार्ग अन्तरगत धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडा स्थित प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ गइरहेको यात्रुबाहक बसबाट ४० किलो गाँजा बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिकीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा सोही बसमा सवार रहेका सहिदभूमि गाउँपालिका–१ धनकुटाका ३२ वर्षीय सुरज राईको भएको प्रहरीको दाबी छ । उनको साथबाट ४० ग्राम, र २२ वर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। लागु औषध गाँजा बरामद भए सँगै उक्त बस र बसका चालक सुन्दरहरैचा–५ मोरङका ५१ वर्षीय रुद्ध बहादुर तामाङ, सहचालक सहिदभूमि गाउँपालिका–७ का ४३ वर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका–५ धनकुटा का २९ वर्षीय सुरेन्द्र देवान पक्राउ परेका छन् ।
पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ । यसैगरी बिराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजा सहित धनकुटा सहिदभुमि गाउँपालिका–४ का ४४ वर्षीय यज्ञ प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजालुकाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागु औषध गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए ।