चिया मजदुरको कथा : हरिया चिया बगान रवीन्द्रका आँसुले फिक्का छन् (भिडिओ)
विराटनगर । कपाल फुलेर सेतै छन्, चाउरिएका गाला, मनभरि पीरका असंख्या भारी बोकेर हिँडेका रवीन्द्र कटुवाल उमेरले ५८ वर्ष पुगे । यही उमेर सम्पन्न परिवारमा थिए भने उनी हृष्टपुष्ट हुने थे होलान् तर त्यो दिन उनको जीवनमा कहिल्यै आएन ।
सधैँको ज्यामी मजदुरी गरेर नै उमेरको पुग-नपुग ६ दशक काट्न लाग्दैछन् । दमकमा रहेको हिमालयन टिस्टेटमा साइकल लिएर यता-उता हिँड्दै गरेको अवस्थामा भेटिएका कटुवाल यहाँका एउटा चौकीदार कर्मचारी हुन् । वि.सं.२०३० साल तिर उनको बुबा आमा सबै बुधबारेमा रहेको गिरिबन्धु टि-स्टेटमा काम गर्थे । २०३० साल वैशाख १ गते गिरीबन्धु टि-स्टेटबाट उनको परिवार उनलाई लिएर दमकमा आयो । उनी त्यो बेला १० वर्षका थिए ।
सानैमा बुबा आमाले त्यही दमकमा रहेको हिमालय चिया बगानमा लिएर आउनु भयो, त्यहीँ काम गर्न थाल्नु भएको कटुवाल सम्झन्छन् । ‘१० वर्षको उमेरमा नै मलाई यहाँ लिएर आउनु भएको हो, त्यसपछि यहीँ बस्दै जाँदा काम गर्न थालेँ,’ उनले भने, ‘म १४ वर्षको उमेर हुँदादेखि यो बगानमा काम थालेको हुँ, यो २०३४ सालमा तिरको कुरा हो ।’
वि.सं.२०३४ सालमा उनी यो बगानमा आउँदा बाख्राहरू प्रशस्तै पालिएका थिए । ‘शुरुमा मलाई त्यही बाख्रा हेर्ने काम दिइयो,’ उनी सम्झन्छन्, ‘सबैभन्दा तल्लो स्तरको काम भनेको छकौडाको काम हो, त्यही छकौडाको काम मैले पाएँ ।’
सबैभन्दा कम ज्याला भएको कामलाई छकौडा काम भनिन्थ्यो । त्यसपछि उनले भान्सेको काम थाले । भान्सेकाम २४ सै घण्टा गर्नु पर्थ्यो । उनले त्यो काम निक्कै गाह्रो भएपछि बाहिरको काम गर्छु भनेर बाहिरकै काम गर्ने भनेर निस्किए । उनले त्यहीँ भित्रैको बेल्चा हान्ने, फाँड्ने खन्ने काम गरेको सुनाए । त्यसपछि उनले हिमालय बगानभित्रैको चिया उद्योगको काम पाए । उनी त्यही उद्योगमा काम गर्दै गर्दा २०४८ सालमा उनको बुबाको निधन भयो ।
कटुवाका अनुसार बुबाको निधन हुनु भन्दा करिब ८ वर्ष अघि नै उनले विवाह गरिसकेका थिए । बुबाको निधन पछि आफूमा कामको थप जिम्मेवारी आएको ठानेर रोगी आमालाई उपचार गराउँदै उद्योगमै काम सिके र त्यहीँ काम गरे ।
उनले लामो समय हिमालय चिया बगानको उद्योगमा काम गर्दै जाँदा वाटर सप्लाई, जेनेरेटर चलाउने लगायतका थुप्रै काम गर्ने मौका पाएको उनी सुनाउँछन् । ‘मलाई सबैले राम्रो मान्छे मान्थे, म्यानेजरको मन जितेर बसेको थिएँ,’ उनले आफ्ना कुरा सुनाउँदै भने, ‘एउटा हिटर मेसिनबाट ९५ लिटरसम्म इन्धन खपत हुन्थ्यो, मैले घटाउँदै २५ लिटरमा झारेँ ।’
यतिबेलासम्म संघर्ष एउटा गतिमा अघि बढ्दै थियो । काम पनि राम्रै थियो, इमान जमानको कुरामा सबैले उनलाई राम्रो मान्थे । जब मजदुर आन्दोलन शुरु भयो अनि उनका कथा फेरियो । ‘पोहोर, परार दुई वर्ष अघि मजदुर आन्दोलन शुरु भयो त्यसमा साथीहरूको लहै लहैमा म पनि लागेँ,’ उनले भने, ‘पोहोर परार मजदुर आन्दोलन हुँदा मजदुर पक्षमा लाग्नै पर्यो, लागेँ ।’
उद्योगले सधैँ घाटा मात्र देखाएको, बढेको ज्याला पनि नदिएको, दिई हालेपनि ८/१० महिना पछि ६० प्रतिशत मात्र दिएको भन्दै सबै मजदुरहरू आन्दोलनमा लागे । काठमाडौँमा मात्र गएर मिटिङ हुन्थ्यो, मालिक, मजदुर सरकार पक्ष सबै बसेर ज्याला निर्धारण गर्थे, तर तोकेको ज्याला पनि बगानका मजदुरहरूले पाउँदैन थिए ।
त्यसैको विरोधमा मजदुरहरुसँगै उनी पनि आन्दोलनमा लागे । ‘मजदुर पक्षमा लागेर कुरा गर्यो भनेर अहिले चौकीदारमा लगाएको छ,’ उनी भन्छन्, ‘४५ वर्ष भयो काम गरेको, उद्योगमा मात्र ३४ वर्ष भयो, आफ्नो कुरा साथीहरूसँगै लागेर भन्दा गर्दै आएको जिम्मेवारीबाट निकालेर अर्कोमा लगाइएको छ, अब के गर्नु लडाई गर्नु भएन ।’
मजदुरका प्रतिनिधिहरू व्यक्तिगत स्वार्थमा लाग्दा आफ्नालाई राम्रोमा पठाउने अनि मजदुरको आन्दोलनमा लागेको भन्दै अलिक ईमान्दारलाई बाहिर निकाल्ने गर्न थालेको कटुवाल बताउँछन् । मजदुरका प्रतिनिधि ईमान्दार नभएको, व्यवस्थापनकै पक्षमा रहेछन्, प्रतिनिधिहरू आएर ठिक्क पार्ने अनि व्यवस्थापन पक्षमा पनि कुरा लगाउने काम गरेपछि उद्योगले निकाली दिएको कटुवालको अनुभव छ ।
दुई रुपैयाँबाट शुरु गरेको काम
चिया बगानमा सबैका आ-आफ्नै खालका जिम्मेवारी हुन्छन्, त्यही जिम्मेवारी अनुसारको काम पनि दिईन्छ । धेरै प्रकारका काम मध्ये एउटा काम छकौडा पनि हो । उनले दैनिक २ रुपैयाँमा छकौडामा काम गर्न थालेका हुन् ।
औरतमा ३ रुपैयाँ, मोरतको ५ रुपैयाँ,त्यसपछि त्यही मौरतकै काममा उनले दैनिक ७ रुपैयाँमा काम गर्न थाले । यही काममा २ रुपैयाँ ४ रुपैयाँ बढ्दै गयो, बहुदल लागेपछि २२ रुपैयाँ हाजिरा पाउन थाले, यो २०४७ सालको कुरा हो । बहुदल आएपछि मात्र ज्याला बढ्दै गयो अहिले दैनिक ४३५ रुपैयाँ ज्याला कटुवाले पाउँछन् । ‘सञ्चय कोष पनि पाउँछु । तर सञ्चय कोषमा ७ वर्षदेखि प्रशासनले हाम्रो रकम कट्टा गरेरपनि जम्मा नै गरेनन्,’ उनले भने, ‘अहिले बगानमा म्यानेजर प्रहरीका डिएसपी आएका छन्, उनी आएपछि सञ्चय कोष पठाउन थालिएको छ।’
हिमालय टिस्टेट नर्सरीमा काम गर्ने कटुवाल परिवारले राहतको श्वास कहिल्यै फेर्न पाएनन् । उनकी श्रीमती पनि बिरामी छिन्, तर उद्योगमा काम भने गर्छिन् नै । काम गर्ने क्रममा काठ उछिट्टीएर उनको एउटा आँखो फुट्यो, थाईराईड्सको समस्या छ, पित्त काटेर फालिएको उनी बताउँछन् ।
‘मलाई त नराम्रो देखे देखे, श्रीमतीलाई पनि हेपे, टिभी रोग छ भनेर धाई आमा बनाएर रोग सार्छे भनेर तीन दिनमा नै हटाए,’ उनले गहभरी आँसु पार्दै भने, ‘के आँखा फुटेको सर्छ र? थाईराईड सर्छ र, अनि पित्तको अप्रेसन सरुवा रोग हो र ? अनि यस्तो अपराध, यस्तो अन्याय हुन्छ त हजुर ?’ यो हामीमाथि भएको अत्याचारै भनौँ न, अन्याय भएको हो । यहाँ न्याय मर्नु पर्दछ भने अत्याचार बाँच्ने गर्दछ, सत्य मर्नु पर्दछ भने झुठा जाग्ने गर्दछ, ईमान्दार मर्नु पर्दछ भने फटाहा बाच्ने गर्दछ, यहाँ पनि त्यस्तै भयो । अलिक चित बुझ्दैन, काम गरेको ज्याला श्रमको दाम हो ।’ सरकारले तोकेको ज्याला हो, त्यो उद्योग घाटा देखाउने र सम्झौता घटाउने काम भएकोमा उनलाई असाध्यै पीडा हुन्छ ।
पारिवारिक पीडा
कटुवालकी श्रीमती अहिलेपनि चिया पत्ति टिप्ने काम गर्छिन् । श्रीमती मनरुपा कटुवाल हुन, उनका एक छोरा दुई छोरी हुन्, छोरा २०४२ सालको हो, दोस्रो छोरी ४६ साल र अर्को ५० सालकी छोरी हुन् । तीन छोरा छोरी मध्ये दुई छोरीको बिहे गरेर ज्वाइँको घर पटाइसकेका छन् । भएको एउटा छोरा कक्षा ८ मा पढ्दा पढ्दै रोगले च्याप्यो ।
छोरा कक्षा ९ मा तीन पटक फेला भए । ‘पढ्न छाड्यो, त्यसपछि बिहे गराइदिएँ,’ कटुवाल भन्छन्, ‘बिहे गर्नेरोग हो कि भनेर बिहे गरिदिएँ, त्यही पनि ठिक भएन, एक वर्ष बसेर अब यस्तोसँग बस्दिन भनेर बुहारी माइत गएको उतैबाट अर्कैसँग बिहे भएछ ।’ कटुवालका अनुसार, पहिलो बुहारी अर्कैसँग गएपछि छोरोलाई दोस्रो बिहे गरिदिएँ, लिम्बुनी थरकी ती ४० वर्षीय अलिक पाको खालको परेछ, साथीले गराइदिएको त्यो पनि बसेन, गयो अर्कैसँग ।
गत वर्ष (पोहोर) दसैँको बेला थियो । सबै दसैँमा रमाई रहँदा कटुवालको परिवारमा भने सन्नाटा छायो । उनको भएको एउटा छोरो पनि बित्यो । नौरथाको बेला उनको छोरालाई निमोनियाँ भएको थियो । यहाँको अस्पतालले उपचार नहुने भनेपछि विराटनगरको नोबेल अस्पताल लगे । ७ दिनसम्म अस्पतालमा उपचार गराएर ८ औँ दिनको दिन डिस्चार्ज गरेर अस्पतालले घर पठायो ।
फर्काएर बगानमै बस्दै आएको घर लगेको भोलि पल्टै छोरो बितेको उनी बताउँछन् । ‘भएको एउटा छोरो पनि बितिहाल्यो,’ उनी भन्छन्, ‘सबै पीडा मलाई मात्र आयो, जति गर्दा पनि केही गर्न सकिनँ । कति मर्न मन लाग्छ, बाँच्नु बेकार छ जस्तो लाग्छ, तर भएका दुई छोरी र श्रीमतीलाई हेरेर पनि त बाँच्नु त छँदैछ ।’
उनको सम्पत्तिको नामा केही छैन । त्यही बगानले दिएको एउटा टहरामा बस्दै आएका छन् । दुई बुढा बुढी बस्दै आएका छन् । दुई छोरी मध्ये एउटालाई काभ्रे र अर्कीलाई रामेछाप बिहे गरेर पटाइसकेका छन् । उनले काम गर्ने यो चिया बगान पूर्व राजा ज्ञानेन्द्र शाहको हो । यहाँ धेरै मजदुरका पीडा यस्तै नै छन् । सेवा सुविधा नपाएको, पाएपनि समयमा नदिएको, पाएको सेवा सुविधा कटाइएको छ । करिब ७ सय बिगाहामा चिया बगान रहेको यो उद्योग सबै भन्दा ठुलो चिया बगान मध्येको एक हो ।