महाकाली सन्धीको विवादले एमाले फुट्यो, दोष मलाई लगाइयो : रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाकाली सन्धीबारे विवादका कारण आफू प्रतिनिधिसभाको सभामुख हुँदाताका नेकपा एमाले फुटेको भए पनि आफूलाई दोष दिने गरिएको बताएका छन् । नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई शुभकामना दिने क्रममा प्रतिनिधि सभा संसदमा बोल्दै उनले आफू सभामुख हुँदाको अनुभव सुनाउने क्रममा यस्तो बताएका हुन् ।
‘त्यति बेला सभामुख म थिएँ,’ उनले भने, ‘भारतसँग महाकाली सन्धीबारे एमालेमा विरोध भयो । एउटा पक्षले सन्धीले नेपालको आर्थिक विकास हुने र पश्चिमबाट सुर्य उदाउने बताएको थियो भने अर्को पक्षले राष्ट्रिय खतरामा पर्छ भनिरहेको थियो । त्यसो हुँदा एमाले फुट्यो । मैले नफुट्न आग्रह गरेँ । राप्रपा पनि फुट्यो त्यतिबेला । मैले नफुट्न आग्रह गरेँ । उहाँहरु मान्नुभएन । तर, दोष मलाई लगाउने गरिएको छ ।’
आफू सभामुख हुँदा भर्खरभर्खर संसदीय अभ्यास सुरु भएको बेला भएकोले संसद चलाउन गाह्रो परेको भए पनि अहिले धेरै अनुभव भएका कारण सजिलो हुने उनले बताए ।
उनले भने, ‘हाम्रो संसदीय अभ्यास धेरै लामो भइसकेको छ । मैले सभामुखको भूमिका निर्वाह गर्दा सुरुसुरुको अवस्था थियो । त्यसो हुँदा त्यतिबेला गाह्रो हुन्थ्यो । मेरो पालाको जस्तो विरोध र समर्थनको चर्को अवस्था अहिले नरहेकोले संसद चलाउन सजिलो पनि छ । मैले चलाउँदा सुरुमै संसद विघटन भयो । मुद्दा अदालतमा गयो । र अदालतले त्यो विघटनलाई खारेज गरिदियो । मैले महाअभियोग पनि ब्यहोर्नुपर्यो ।’
उनले राष्ट्रियता, लोकतन्त्रको रक्षाजस्ता कार्यक्रमा सभामुखले भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले अहिले दलीय एकताको आवश्यकता रहेको बताए ।
उनले मुलुकमा आर्थिक अवस्था संकटमा रहेको भन्दै निर्मम भएर राष्ट्रिय चालू खर्च कटौती गर्नुपर्ने बताए ।