हाम्रो संसदीय अभ्यास आधुनिक, वैज्ञानिक र व्यवहारिक छैन : सीके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले नेपालको संसदीय अभ्यास आधुनिक र वैज्ञानिक हुन नसकेको बताएका छन् । संसदका नवनिर्वाचित सभामुख र उपसभामुखलाई शुभकामना दिने क्रममा मंगलबार प्रतिनिधि सभामा बोल्दै राउतले यस्तो बताएका हुन् ।
‘यहाँ माइक र क्यामेरा झिकेदिने हो भने ३०० वर्षअघिको र अहिलेको हाम्रो संसदमा कुनै फरक देखिँदैन,’ उनले भने, ‘ठूला दललाई बोल्नका लागि बढी सयम र साना दललाई कम समय दिने हाम्रो अभ्यास व्यवहारिक छैन । त्यसो गर्ने हो भने ९० सांसद भएका ठूलो दलका सांसदलाई चिया खान पनि ९० मिनेट दिने र १ जना सांसद भएका साना दलका लागि चिया खान पनि १ मिनेट मात्रै दिने हो भने त्यो व्यवहारिक हुँदैन । त्यसैले समय तोक्दा व्यवहारिक हुनुपर्छ ।’
उनले ठूला दलका सांसदले संसदमा मनलाग्दा आउने नलाग्दा नआउने, आफूखसी आउने–जाने गर्ने प्रवृत्ति पनि सुधार हुनु आवश्यक रहेको बताए ।