कर्णालीका मुख्यमन्त्री शर्मा भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा
सुर्खेत । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबन्डामा सहमति भएसँगै कर्णाली प्रदेशमा बुधबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा नेताहरू जुटेका छन् ।
आज मंगलबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको बैठकले मन्त्रालयको भागबन्डाको विषय टुङ्गिएपछि मुख्यमन्त्री शर्माले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा भइरहेको बताएका छन् । मुख्यमन्त्री शर्माले भने, ‘भोलि मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छौ । त्यसैको लागि छलफल भइरहेको छ । आशा गरौँ भोलि बेलुकासम्म मन्त्रीपरिषद्ले पूर्णता पाउनेछ ।’
मंगलबारको भागबन्डामा कर्णालीमा नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ । भने नेकपा एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ ।
पुष २८ गते मुख्यमन्त्रीसँगै कर्णालीका २ मन्त्रीहरूले पनि शपथ लिएका थिए । शपथ लिएका मन्त्रीहरू नेकपा एमालेका विनोदकुमार शाह र माओवादी केन्द्रका राजकुमार शर्मा मन्त्री बनेको १३ दिनसम्म पनि कुनै जिम्मेवारी पाएका छैनन् । मन्त्रालय घटाएर ७ बनाएको कर्णाली प्रदेश सरकारमा अब एमालेबाट २ र माओवादीबाट २ मन्त्री बन्नेछन् ।