अखिल क्रान्तिकारीको स्ववियु कार्यशाला काठमाडौँमा सुरु
काठमाडौँ । अखिल क्रान्तिकारीले स्ववियु चुनावसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ ।
केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौँमा कार्यशाला आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हिमाल शर्माले स्ववियुमा उमेर हद अखिल क्रान्तिकारीको नेतृत्वमा लागेको बताए । एक ढिक्का भएर स्ववियु चुनावमा होमिन सम्पूर्ण नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।
उनले अखिल क्रान्तिकारी भित्र देखा परेका अराजनीतिक गतिविधिहरूलाई स्थान दिन नहुने समेत बताए ।
सङ्गठनका अध्यक्ष पञ्चासिंहले आफूहरूको सम्पूर्ण ध्यान स्ववियु चुनाव केन्द्रित रहेको बताउँदै केन्द्रीय परिपत्रअनुसार सम्पूर्ण शक्ति क्याम्पसहरूमा केन्द्रित गरेर अगाडि बढ्न निर्देशन दिइन् ।
उपाध्यक्ष मिलन एमसीले स्ववियु चुनावमा श्रेष्ठता हासिल गर्न सम्पूर्ण शक्ति एक भएर लाग्नुपर्ने बेला आएको बताए । त्यस्तै, उपाध्यक्ष राजकुमार एक्सो लिम्बुले अखिल क्रान्तिकारीको गौरवपूर्ण विरासत जोगाउन पनि स्ववियु चुनाव जित्नुपर्ने जिम्मेवारी आएको बताए ।
त्यसै गरी सङ्गठनका महासचिव दिपेश पुनले सबै क्याम्पसहरूमा स्ववियु चुनाव सम्पन्न गर्ने र विजयी हुने दायित्व अखिल क्रान्तिकारीको काँधमा आएको बताए ।
कार्यक्रममा सङ्गठनका सचिव प्रसुन कार्की, बाबुराम नेपाली, विशेष प्रदेशका अध्यक्ष सञ्जीव रेग्मीले कार्यशालालाई सम्बोधन गरेका थिए ।
अखिल क्रान्तिकारीले यही माघ १५ गते कर्णाली, १६ गते सुदूरपश्चिम, १७ गते लुम्बिनी, १८ गते बागमती, १९ गते मधेस, २० गते १ नम्बर प्रदेशमा कार्यशाला गर्ने निर्णय गरेको छ ।