एमबाप्पे पेनाल्टीमा चुके, मेस्सीको गोलमा पिएसजी विजयी
काठमाडौँ । फ्रेन्च लिग वानमा मोन्टपेलिएरविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) ३–१ गोल अन्तरले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पिएसजीको जितमा फावियन रुइज, लियोनेल मेस्सी र वारेन जाइरी एमेरीले एक/एक गोल गरे ।
मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए । मोन्टपेलिएरमा भएको खेलमा पिएसजीलाई सुरुवातमै अग्रता लिने मौका थियो । उसले नवौं मिनेटमा पेनाल्टी अवसर पायो । तर, त्यसमा केलियन एमबाप्पे चुके । फेरि पेनाल्टी प्रदान गरिए पनि एमबाप्पे सफल हुन सकेनन् । दुई सुनौलो अवसर गुमाएका उनी चोटका कारण २१ औं मिनेटमा मैदान बाहिरिए ।
पिएसजीले सुरुवाती अग्रता लिन ५५ मिनेट पर्खिनुपर्यो । उसलाई सुरुआती अग्रता फावियन रुइजले दिलाए । ७२औं मिनेटमा उनको असिस्टमा मेस्सीले गोल गरे । ८९औं मिनेटमा एर्नाअड नोर्दिनले गोल गरेपछि खेल २–१ को अवस्थामा आयो ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वारेन जाइरी एमेरीले गोल गर्दै पिएसजीलाई ३–१ को जित दिलाए । यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजी थप बलियो देखिएको छ । उसले २१ खेलबाट ५१ अंक जोडेको छ । पिएसजी दोस्रो स्थानको मार्सेभन्दा ५ अंकले अगाडि छ । पराजित मोन्टपेलिएर २० अंकका साथ १४ औं स्थानमा छ ।