गृहमन्त्री कसलाई बनाउँछ, रास्वपाले जान्ने कुरा हो : ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भएकाे पूर्व सहमतिअनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नै पाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री दिने सहमति भएको थियो त्यही अनुसार रास्वपाले गृहमन्त्री पाउने बताए ।
‘अब त्यो पार्टीले पाएको गृहमन्त्री कसलाई बनाउँछ भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टीले नै निर्णय गर्ने कुरा हो,’ ओलीले भने, ‘कसलाई गृहमन्त्री बनाउँछ भन्ने कुरा उसैले जानोस्, हामीले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको हो ।’
सत्ता गठबन्धनमा समस्या नरहेको बताएका ओलीले छलफलको आधारमा अघि बढ्ने बताए । रविलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीले अदालतको पूर्ण पाठसम्म पर्खिएको भनिरहेका छन् नी ? भन्ने पत्रकारकाे प्रश्नमा ओलीले भने, ‘अदालतको पूर्णपाठ कण्ठ गर्ने हो र ? पूर्णपाठ किन चाहियो ।’
अध्यक्ष ओलीले राजनीति एजेन्डा र त्यसलाई कार्यान्वयन गर्ने कुराले सरकार संकटमा नपर्ने बताए । उनले प्रणालीमा नै अस्थिरता रोपिएको बताएका छन् ।
‘निर्वाचनलगत्तै मैले देश असाधारण अस्थिरतामा जान्छ भनेको थिएँ,’ उनले भने, ‘नेपाल कहिल्यै पनि स्थिरतामा जानै पाएन, उही राण शासनको बेलामा मात्र जहानियाँ शासनको हिसाबले चल्नु, त्योभन्दा अगाडि राजशाही हुँदाखेरि दमन र नियन्त्रणको भरमा चल्नु एउटा कुरा हो, जब जब डेमोक्रोसीको कुरा आयो त्यसपछि स्थिरतामा देश जानै पाएन ।’
ओलीले २००७ सालमा प्रजातन्त्र आएपछि कुनै पनि सरकार ५ वर्ष नचलेको यथार्थ रहेको सुनाए । उनले शासन प्रणालीलाई कसरी लाने, निर्वाचन प्रणालीलाई संस्थागत र सुदृढ बनाउने भन्ने बारे छलफल गर्नु पर्ने अवस्था आएको बताए ।
कांग्रेसले राजनीतिक संस्कार र इज्जत नराखेको बताए । ओलीले राष्ट्रपति एमालेबाट हुने पूर्वसहमतिअनुसार नै हुनुपर्ने बताए । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनाउने व्यक्ति सरकारको उम्मेदवार हुने ओलीको भनाई छ ।