सरकारमा रहने–नरहने निर्णय लिँदै रास्वपा, साँझ बैठक बाेलाउने तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा बसिरहने वा बाहिरिने भन्नेबारे आज निर्णय लिने तयारी गरको छ । यसका लागि यही विषयमा प्रस्ताव तयार पारेर आजै साँझै केन्द्रीय समितिको बैठक बाेलाउने तयारी भइरहेको पार्टी प्रवक्ता मुकुल ढकालले बताए ।
नेपाली नागरिकताको वैध प्रमाणपत्र नभएको ठहरपछि सर्वोच्चले १३ माघमा पार्टी सभापति रवि लामिछानेको सांसद, उपप्रधानमनत्री, गृहमन्त्री तथा पार्टी सभापति पद नहरने फैसला गरेको थियो । उक्त फैसलापछि रविले नेपाली नागरिकताको प्रमाणपत्र पुनः आवेदन दिएर लिएका छन् । नागरिकता लिइसकेपछि उनले आफूलाई नै गृहमन्त्रालयमा पुनः बहाली गराउन प्रधानमन्त्रीसहित सत्ता साझेदार दललाई दबाब दिँदै आएका छन् ।
सत्ता साझेदार मध्ये नेकपा एमालेले रविलाई पुनः गृहमन्त्री बनाउन दबाब दिँदै आएको छ । तर, प्रधानमन्त्रीले भने अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रीबारे निर्णय नलिने भन्दै उक्त मन्त्रालयको जिम्मेवारी आफैँले राखेका छन् ।
नागरिकताबाहेक रविले कायम नरहेको नेपाली नागरिकताको प्रमाणपत्रकै प्रयोग गरेर नेपालीसहित दोहोरा राहदानी लिएकोलगायतका कारण उनलाई गृहमन्त्री नदिने संकेत गरिरहेका छन् ।
आफूलाई गृहमन्त्री नबनाउने संकेत पाएपछि रविले प्रधानमन्त्रीलाई अल्टिमेटम दिएका थिए । तर, प्रधानमन्त्री गृहमन्त्रीको नाम पठाउन पार्टीलाई कुनै आग्रह अहिलेसम्म नगरेपछि पार्टीको बैठक बस्न लागेको हो ।
रास्वपाका सभापति रविवाहेकका नेताहरुले भने गृहमन्त्रालय पार्टीले पाउनु पर्ने र रवि नभए अन्य कुनै नेतालाई गृहमा पाठाउन सकिने बताउँदै आएका छन् । तर, रविले भने आफैँले मन्त्रालय पाउनु पर्ने बताइरहेका छन् ।