क्रिकेटर सन्दीपविरुद्धको मुद्दाका सबै कागजात झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन शुक्रबार आदेश दिएको हो ।
नाबालिगलाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले २८ पुसमा आदेश दिएको थियो ।
विदेश जान नपाउनेलगायत सर्तसहित रिहा भएका लामिछानेलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गरी राष्ट्रि क्रिकेट टिममा समावेश गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले उनलाई आजबाट बन्द प्रशिक्षणमा पठाइसकेको छ ।
तर, उच्च अदालतको उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश प्रचलित कानुन र न्यायिक सिद्धान्तविपरीत रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो ।