विराटनगरमा ‘एभरेष्ट कार्निभल हुने
विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउण्डेसनले ‘एभरेष्ट कार्निभल २०७९’ गर्ने भएको छ। ‘उत्कृष्टता नवप्रर्वदन र विकासतर्फको यात्रा’ नाराका साथ पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो ।
विराटनगरमा रहेको एभरेष्ट कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी फाउण्डेसनका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरीले माघ २७ –२९ गतेसम्म कलेज परिसरमा एभरेष्ट कार्निभलको आयोजना हुने जानकारी दिए ।
कार्निभलमा विद्यार्थीहरूद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणित तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरू प्रदर्शनीमा राखिने उनले बताए । ‘कलेज परिसरमा १८ वटा स्टलहरू राखिनेछन्, पुरीले भने, ती स्टलहरूमा विभिन्न अन्वेषणात्मक परियोजनाहरूको प्रदर्शनी, कला प्रदर्शनी, मिनी म्युजियम, पुस्तक प्रदर्शनी, विद्यार्थीहरूद्वारा सञ्चालित खानाका स्टलहरू, फेस पेन्टिङ स्टल, एभरेष्ट एचिभमेन्ट ग्यालरी राखिने छ ।‘ नोवल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत रहने उनको भनाई छ ।
कार्निभलको दौरान विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य सांस्कृतिक कार्यक्रमले भरपुर मनोरञ्जन प्रदान गरिने जनाइएको छ। २९ गते विद्यार्थीहरूको साङ्गीतिक प्रस्तुतिसँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू कालीप्रसाद बाँस्कोटा, अस्मिता अधिकारी र अञ्जु गौतमको साङ्गीतिक कन्सर्ट गर्ने समेत पुरीले जानकारी दिए ।
करिब ३० लाख रुपैयाँको लागत लाग्ने अनुमान गरेको एभरेष्ट कार्निभललाई विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, बुद्धिजीवी र शिक्षा क्षेत्रसँग जोडिने करिब २५ हजार जनाले अवलोकन गर्ने अनुमान फाउण्डेसनको छ ।