पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको बाटो खुल्यो
मोरङ । मोरङका प्रभावशाली नेताहरु डा. शेखर कोइराला, डा. सुनिल शर्मा तथा जीवन आचार्यको प्रयासपछि पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज चलाउन कोसी अस्पताल प्रयोग गर्न दिने निर्णय गरेसँगै विश्वविद्यालयलाई १९ वर्षपछि मेडिकल कलेज सञ्चालनको बाटो खुलेको हो ।
मोरङ क्षेत्र नं. ३ र ६ का संघीय सांसदद्वय डा. कोइराला र डा. शर्मासँगै १ नं. प्रदेशका मन्त्री जीवन आचार्यको योजना र अनवरत प्रयासपछि संघीय मन्त्रिपरिषद्को बैठकले विराटनगर स्थित कोसी अस्पताललाई प्रयोगात्मक अभ्यास गर्नदिने निर्णय गरेको थियो । कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई शैक्षिक अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको ठिक एक वर्षपछि मन्त्रिपरिषद्ले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज खोल्ने योजनाले १९ वर्षपछि मुर्तरुप पाएकोमा मोरङ क्षेत्र नं. ३ र ६ का स्थानीय खुसी भएका छन् । आफ्नै गाउँघरमा मेडिकल कलेज स्थापना हुने निश्चित भएसँगै उनीहरुले सो क्षेत्रका राजनीतिककर्मीहरुको सक्रियता प्रति प्रशंसा पनि गरे । ‘डा. सुनिल शर्मा र डा. शेखर कोइरालाले मंसिर ४ गतेको निर्वाचनका दौरान यो क्षेत्रमा मेडिकल कलेज ल्याउने भनेपछि आस जागेको थियो, त्यसअघि त मेडिकल कलेज आउँछ भन्ने आसै थिएन ।’ मोरङ गोठगाउँका रविन्द्र श्रेष्ठले भने, ‘सरकारले निर्णय नै गरेको सुनियो अत्यन्त खुसी लागेको छ,’ उनले भने ।
विश्वविद्यालयले २०६२ सालयता पटकपटक मेडिकल कलेज सञ्चालनको प्रयास गरेतापनि जनान्दोलन, डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलन र राजनीतिक अस्थिरतासँगै खिचातानीले असर गरेको थियो । ८ सय ५ विगाहामा फैलिएको विश्वविद्यालयसँग भौतिक संरचना बनाउन पर्याप्त जग्गा छ ।
डा. सुनिल शर्माको सार्थक प्रयास
विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाटै कलेज सञ्चालन गर्ने लक्ष्य लिएको छ । डा. सुनिल शर्माले प्रमुख भूमिका निर्वाह गर्दै पटकपटक विश्वविद्यालयका पदाधिकारी, राजनीतिककर्मी, सरोकारवालासँग छलफल र समन्वय गर्दै आइरहेका थिए । डा. शर्माले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने विषयलाइ चुनाबी एजेण्डा नै बनाएका थिए ।
मेडिकल कलेज सञ्चालन गर्न ढिलाई भएपछि मोरङ क्षेत्र नं. ३ का सांसद डा। शर्माले माघ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा भेटेर नै अनुरोध गरेपछि तत्कालै प्रधानमन्त्रीले मुख्य सचिवलाई फोन गरेर तुरुन्तै फायल अगाडी बढाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन पछिपनि फायल स्वास्थ्यमन्त्री कहाँ गएर रोकिएको रहेछ ।
गत २२ गते पुनः डा. शर्माले प्रधानमन्त्रीलाई उक्त विषय जानकारी गराएपछि प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीलाई फोन गर्दै निर्देशन दिए । डा. शर्माले स्वास्थ्यमन्त्रीलाई भेट गर्दै मेडिकल कलेजको फाइल अगाडी बढाउन अनुरोध गरेपछि सोहीदिन फायल अगाडी बढेर मन्त्रिपरिषद्मा पुगेको थियो ।
विश्वविद्यालयले कलेज सञ्चालनको स्वीकृति पाएसँगै फ्याकल्टी नियुक्त, पूर्वाधार निर्माणको योजनाहरु अगाडी बढाउने तयारी थालेको छ । तत्कालका लागि कोसी अस्पताललाई प्रयोगात्मक अभ्यासमा लिइने तथा क्रमिक रुपमा पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य लिइएको छ । मेडिकल कलेज सञ्चालनका लागि तीन सय वेडको अस्पताल चाहिने चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेकाले तत्कालका लागि कोसी अस्पतालसँग सहकार्य गरिएको हो ।