महाशिवरात्रिका लागि पाशुपत क्षेत्रमा रङ्गरोगन र मर्मत सम्भार सुरु (तस्बिरसहित)

काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप पाशुपत क्षेत्रमा रङ्गरोगन र मर्मतसम्भार सुरु गरिएको छ ।

महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २९ गते विशेष सफाइसमेत सुरु गर्न लागेको छ । पशुपति क्षेत्रमा वर्षभरि मनाइने पर्वहरुमध्ये महाशिवरात्रि महत्वपूर्ण पर्व हो । महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समितिसमेत गठन गरिएको छ ।

मूल समारोह समितिअन्तर्गत नौ वटा उपसमिति गठन भएका छन् । ती उपसमितिले बैठक गरी महाशिवरात्रिको तयारीलाई तीव्रता दिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था तथा शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामिकाे स्वागतका लागि स्वागत तथा सत्कार उपसमिति पनि गठन गरिएको छ ।

यसैगरी कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा प्रचारप्रसार, स्वयंसेवक व्यवस्था उपसमिति, परिषद् सदस्यद्वय देवीप्रसाद बराल र उत्सव बडालको संयोजकत्वमा आवास, भोजन तथा भौतिक व्यवस्था उपसमिति गठन गरिएको छ । परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा उपसमिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमिति, परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाको संयोजकत्वमा साधुसन्त तथा पूजापाठ व्यवस्था उपसमिति गठन गरिएको छ ।

महाशिवरात्रिका अवसरमा फागुन ६ गते पशुपतिनाथ मन्दिर प्राङ्गणमा नेपाली सेनालाइमात्र खटाउने निर्णय पनि कोष सञ्चालक परिषद्ले गरेको छ । महाशिवरात्रिका अवसरमा कोषले लिङ्ग पुराणसमेत आयोजना गर्न लागेको छ । यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आमन्त्रण गरिएको कोषले जनाएको छ ।

शङ्कराचार्य निश्चलानन्द सरस्वतीको स्वागतका लागि पनि कोषले विशेष तयारी गरेको जनाएको छ । पाशुपत क्षेत्रका सम्पदाहरुमा पनि रङरोगन गरी महाशिवरात्रिका लागि चिटिक्क बनाइने कोषले बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *