एमालेले कांग्रेस र माओवादीलाई झुक्याएर छट्टु काम गरेकै हो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तालमेल गरेर निर्वाचनमा जाने र निर्वाचनपछि उक्त तालमेललाई जोगाउने अभ्यास र अनुभव नै नेपाली राजनीतिक दलमा नभएकोले तालमेलको राजनीति त्याग्नुपर्ने बताएका छन् ।

‘१० वर्ष, २० वर्ष यो गठबन्धन टिक्छ भनेर हामीले तालमेल गर्यौं,’ उनले भने, ‘मैले तालमेलका कारण कलममा मत हालेँ, रामकुमारीजीले रुखमा मत हाल्नुभयो तर हामीले आम मतदातालाई गठबन्धनको भारी बोकाएर त्यो गठबन्धन जोगाउन नसक्दा हामीले त्यो प्रश्नको जवाफ दिनै पर्छ ।’

लोकतन्त्र संवाद केन्द्र काठमाडौँले प्रज्ञाप्रतिष्ठान कमदादीमा आयोजना गरेको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

आम मतदातालाई झुक्याउनु नहुने भन्दै त्यो प्रश्नको जवाफ दिनबाट नेतृत्वले भाग्नु नहुने बताए ।

‘पुस १० गते बिहानसम्म हामी गठबन्धनमा थियौँ, नयाँ सरकार बनाउन खोज्दै थियौँ,’ उनले भने, ‘नेकपा एमालेले तपाइँहरु त्यार भएर बस्नुस् हामी ३ बजे हस्ताक्षर लिएर आउँछौँ भनेर कांग्रेसलाई भनेकै हो । माओवादीलाई पनि तपाइँ आउनु भयो भने हामी कांग्रेसतिर जाँदैनौँ भनेर भनेकै हो । यसको अर्थ एमालेले छट्टु काम गरेकै हो । एमालेले कांग्रेस र माओवादीलाई झुक्याएकै हो, हामी भुक्किएकै हो ।’

एमालेले बनाउने राष्ट्रपतिले समानान्तर शासनको अभ्यास गर्ने देखिएकोले नेपाली कांग्रेसले एमालेको उम्मेदवारलाई हराउन खोजेको बताए ।

‘एमालेले बनाउने पार्टीको कठपुतली राष्ट्रपति हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘संविधानले दिँदै नदिएको अधिकारको अभ्यास गर्ने, कार्यकारी अधिकारको प्रयोग गर्ने र समानान्तर सरकारको अभ्यास गर्ने राष्ट्रपतिले लोकतन्त्रलाई नै धरापमा पार्ने छ । त्यसो हुँदा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ । आफ्नो उम्मेदवारलाई भोट माग्छ, जिताउँछ । कांग्रेसको उम्मेदवारलाई हराउँछ । राष्ट्रपतिमा आँखा लाउलास् भनेर एमालेले कांग्रेसलाई कसरी भन्न मिल्छ ?’

राप्रपाले प्रदेशको मुख्यमन्त्री नै बेनर प्रदेशको विरोध गर्न नमिल्ने उनले बताए ।

नयाँ पार्टीको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नो नट अगेन’ भनेर पुराना राजनीतिक नेतृत्वलले नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताएर भोट मागेको तर तीनै पुराना नेताको नेतृत्वको सरकारमा रास्वपा गएर गल्ति गरेको बताए ।

‘पुरानालाई अस्वीकार गरेर जितेर आउने, पुरानाकै सरकारमा जाने, सरकारमा गएपछि फेरि सरकार छोड्ने किन गरेको ?,’ उनले भने, ‘रास्वपाले यी प्रश्नको जवाफ दिनु पर्दैन ?’

नेपालको प्रेसमा सुधार गर्नुपर्ने थुप्रै पक्ष रहेको भन्दै उनले राजनीतिक दलले प्रेसलाई घेर्न नमिल्ने पनि बताए । राजनीतिक नेतृत्वलाई प्रेसको डर हुनु नहुने भन्दै प्रेसलाई पनि राजनीतिक नेतृत्वको डर हुुनु नहुने उनले बताए ।

राजनीति गर्नेले आलोचना सहन सक्ने क्षमता राख्नुपर्ने उनले बताए ।

‘मलाई गरेको गाली, कमेन्टहरु पढ्ने हो भने म पनि कमण्डलू लिएर हिँडे हुन्छ,’ उनले भने, ‘कसैले लेखेको समाचार वा सामाजिक सञ्चालमा गरिएको कमेन्टलगायतबारे आफूलाई चित्त नबुझे कानुनी उपचार खोज्न सकिन्छ । तर तँलाई देखाइदिन्छु भन्दा समस्या आउँछ । सार्वजनिक ओहोदामा बसेको मासिनले प्रश्नहरुको जवाफ दिनुपर्छ । प्रश्नको सामना गर्न सक्नुपर्छ । आलोचना सुन्न सक्नुपर्छ ।

तरकारी नबिकेका किसान, कुखुराको क्षतिपूर्ति नपाएको किसान, मिटरव्याज पीडित, गहुँ र पीठो आयात गर्न नपाएर उद्योग बन्द गर्न लागेका उद्योगी, किड्नीका समस्या भएका विरामी, सहकारीले ठगी गरेका पीडित, रोजगारविहीन युवा जस्ता अनुक समस्याका आम नागरिकले दैनिक समस्या लिएर आउने गरेको उनले बताए ।

स्थानीय निर्वाचन, संसदीय निर्वाचन, सभामुखको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, गठबन्धन, गठबन्धन जोगाउने काम, गठबन्धन भत्काउनेलगायत यस्तै यस्तै काममा हामी अल्झिएका छौँ । काम गर्ने समय नै नभएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *