देशभरिबाटै उत्कृष्ट बनेको एसपीएको ‘आइटी प्रोजेक्ट’ काठमाडौँमा प्रदर्शन हुने

धनगढी – केही समयअघि इन्जियिनर भीम पुन व्यक्तिगत कामले मालपोत कार्यालय धनगढी पुगेका थिए । गेटमा पुग्ने बित्तिकै छेउमा राखिएको एउटा खुल्ला भवन र त्यसको खचाखच भीडले उनको ध्यान तान्यो ।

भवनमा टन्नै टेबुलकुर्सीहरु राखिएका थिए । हरेक टेबुलमा सेवाग्राही हुन्थे । एकजना लेखापढी सम्बन्धी काम गर्ने मान्छेले लेखेको लेखौँ गर्थे । सोबापत अन्त्यमा केही पैसा लिन्थे । सेवाग्राहीहरू सरकारी कार्यालयका मुचुल्का, तमसुक, सिफारिस, निवेदन आदिका काम त्यहाँ पैसा तिरेर गरिरहेका थिए । त्यसका लागि लाइन बसिरहेका सेवाग्राहीको समय पनि बर्बाद भइरहेको थियो ।

खासमा ती सरकारी कार्यालयमा निःशुल्क प्राप्त हुने निवेदनका ढाँचाहरू हुन् । तर सोझा साझा मान्छेलाई त्यही निवेदन भरिदिएको भन्दै बिचौलियाहरूले पैसा असुलिरहेका थिए ।

एसपीए कलेजको बीआईएम कार्यक्रम निर्देशकसमेत रहेका इन्जियनियर पुनको मस्तिष्कमा त्यही बेला एउटा आइडिया फुर्‍यो, यस्तो एउटा एप होस्, जसले आफ्नो तथ्य भरेकै आधारमा लेखापढीबाट गरिने सम्पूर्ण निवेदन, मुचुल्का, सिफारिस, तमसुक एकैछिनमा तयार गरिदिओस् ।

यस विषयमा पुनले एसपीएकै अध्यापक तथा आइटी अफिसर रवीन्द्र रानासँग पनि सल्लाह गरे र आइडिया जन्मियो- ‘वान डोर लेखापढी सिस्टम’ विकास गर्ने ।

तर व्यस्तताका कारण पुनले उक्त प्रोजेक्ट अघि बढाउन पाएनन् र उनले आफ्नो आइडिया विद्यार्थीहरूसँग साटे । सरको आइडिया सुनेपछि एसपीएमै बीआईएम छैटौँ सेमिस्टरमा अध्ययनरत अरुनिमा कठरिया तथा पहिलो सेमिस्टरमा अध्ययनरत दीपिका जोशी र पूजा साहले उक्त प्रोजेक्ट अघि बढाउने भए ।

त्यहीबीच आइटी क्षेत्रमा महिलाहरूको उपस्थिति बढाउने र उत्प्रेरित पार्ने उद्देश्यसहित खुलेको सिक्वेल फाउन्डेसनले काठमाडौँमा देशकै सबैभन्दा ठूलो महिला ह्याकाथनको आयोजना गर्ने घोषणा गर्‍यो । ह्याकाथन एउटा त्यस्तो कार्यक्रम हो, जहाँ आइटी क्षेत्रका नयाँ आइडियाहरू, अविष्कारहरुको प्रदर्शनी गर्ने गरिन्छ ।

उक्त ह्याकाथनमा देशभरिबाटै आइटी क्षेत्रमा रुचि भएका सम्पूर्णलाई आफ्नो प्रोजेक्टसहित आवेदन आह्वान गरिएको थियो । जसमा एसपीए कलेजले पनि अरुनिमा, दीपिका र पूजाको प्रोजेक्टका रूपमा ‘वान डोर लेखापढी सिस्टम’को बारेमा विस्तृतमा विवरणसहित आवेदन दर्ता गर्‍यो ।

ह्याकाथनका लागि देशभरबाट ८० भन्दा बढी आवेदन परेका थिए । जसमध्ये उत्कृष्ट उत्कृष्ट १६ भित्र पर्दै एसपीएको ‘वान डोर लेखापढी सिस्टम’ प्रदर्शनी हुने भएको छ । जसका लागि एसपीएको टोली बुधबार काठमाडौँतर्फ प्रस्थान गर्दैछ ।

‘देशभरिबाट आएका आवेदनहरूमध्येबाट अब्बल ठहरिँदै हाम्रो प्रोजेक्ट उत्कृष्ट १६ मा पर्नु नै हाम्रा लागि ठूलो उपलब्धि हो,’ एसपीएका बीआईएम कार्यक्रम निर्देशक पुनले भने, ‘दैनिक जीवनलाई सहज बनाउने सरल एप भएकाले निर्णायकहरुले रुचाउनुभएको छ । अब प्रदर्शनीमा आउने सयौँ माझ हाम्रो प्रोजेक्ट प्रस्तुत गर्नेछौँ ।’

उत्कृष्ट १६ भित्र परिसकेपछि अब काठमाडौँमा बिहीबारबाट सुरु हुने ह्याकाथनमा एसपीएका विद्यार्थीहरूले प्रोजेक्ट प्रदर्शनीमा राख्नेछन् । जुनक्रममा ह्याकाथनमा उपस्थित हुने विशिष्ट व्यक्तित्वहरू, आइटी क्षेत्रका विज्ञहरू र अवलोकनकर्ताले ‘वान डोर लेखापढी सिस्टम’बारे जानकारी लिनेछन् ।

‘हामी आइटी क्षेत्र नै अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि यो ठूलो उपलब्धि हो,’ अरुणिमाले भनिन्, ‘हामीले लामो समय यस प्रोजेक्टमा काम गरेका छौँ । प्रदर्शनीबाट प्राप्त अनुभवले यसलाई व्यावसायिक रूप दिन मद्दत पुग्नेछ ।’

उनका अनुसार ‘वान डोर लेखापढी सिस्टम’को मद्दतले सबै सरकारी कार्यालयका निवेदन, मुचुल्का, तमसुक अटोमेटिक जेनेरेट हुन्छ । प्रयोगकर्ताले आफ्नो आवश्यक विवरण पेश गर्ने बित्तिकै एपले एकैछिनमा ती निवेदनहरू तयार पारिदिन्छ । यसले गर्दा बिचौलियालाई पैसा तिर्नुपर्ने तथा लाइन लाग्नुपर्ने समस्याको समाधान हुने विश्वास उनले गरिन् ।

यसअघि पनि एसपीएका बीआईएम अध्ययन गरिरहेका विद्यार्थीहरूले बनाएका दुई प्रोजेक्ट सुदूरपश्चिमाञ्चरस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा उत्कृष्टमा ठहरिँदै काठमाडौँमा प्रदर्शनीका लागि गएका थिए ।

सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयको बीआईएम कार्यक्रम पढाई हुने एसपीए एकमात्रै शैक्षिक संस्था हो । आफ्ना विद्यार्थीलाई अवसर दिने मामलामा एसपीएअघि रहेको कार्यक्रम निर्देशक पुनले बताए ।

‘एसपीएले सङ्ख्या भन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ । सैद्धान्तिकमात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विद्यार्थीहरू अवसर पाउन सक्दैनन्,’ कार्यक्रम निर्देशक पुनले भने, ‘विद्यार्थीलाई पढाई सँगसँगै बजारको मागअनुसार तयार गर्नुपनि हाम्रो उद्देश्य हो । हामी त्यसमा कटिबद्ध भएर लागेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *