शिक्षकले कुटिपिट गरी भिडिओ बनाएकाे निहुँमा विद्यार्थीले आत्महत्या गरेको भन्दै झापामा तनाव
विराटनगर । शिक्षकले कुटपिट गरेको र कुटपिटको भिडिओ बनाएको भन्दै त्यही निहुँमा विद्यार्थीले आत्महत्या गरेको आरोपसहित झापाको गौरीगञ्जमा स्थानीय आन्दोलित भएका छन् ।
गौरीगञ्ज माविमा कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज ३ कृपाल टोलीकी सोनी राजवैशीले आत्महत्या गरेकी हुन् । मंगलबार स्कुलवाट घर फर्किए लगत्तै आत्महत्याको प्रयास गरेकी उनलाई तत्कालै उद्धार गरि अस्पताल पु¥याएपनि उपचार हुन नसकेर मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ बहिनीले देखेपछि उद्दार गरेर दमक उपचारको लागि लगिएकोमा हिजो साँझ मृत्यु भएको थियो ।
यही घटनालाई लिएर आज बिहानैदेखी गौरीगञ्जमा स्थानीय आन्दोलित भएका छन् । प्रत्यक्षदर्शी विद्यार्थीहरुका अनुसार हिजो बिद्यालयमा केटा साथीसँग बसेको निहुँमा विद्यालयका शिक्षक पवन दासले उनलाइ लट्ठीले कुटपिट गरेका थिए । विद्यालयमा शिक्षक पवन दासले कुटपिट गरेको र अर्का शिक्षक नितेश कटुवालले कुटपिट गरेको भिडिओ बनाएका कारण सोनीले आत्महत्या गर्न विवश भएको आरोप मृतकका आफन्तको छ ।
पीडितका आफन्त र कक्षा ११ का विद्यार्थीले आरोपित शिक्षकलार्र्इ पक्राउ गर्न माग गर्दै बिहान इलाका प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।
आरोपित शिक्षकलाई पक्राउ गर्न ढिलासुस्ती गरेको भन्दै आक्रोशित आफन्त र मृतकका साथीले शिक्षक पवन दासको घरमा तोडफोड समेत गरेका छन् ।
मृतकका आफन्तले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आरोपित शिक्षकलाई पक्राउ गरिएपछि अहिले अवस्था सामान्य हुँदै गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।