रियल मड्रिड पुग्यो क्लब विश्वकपको फाइनलमा
काठमाडौँ । स्पेनिस फुटबल क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मोरक्कोमा बुधबार राति भएको सेमिफाइनल खेलमा इजिप्टको अल आहलीलाई ४-१ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।
खेलमा रियललाई विजयी गराउन भिनिसियस जुनियर, फेडेरिको भाल्भर्डे, रोड्रिगो र सर्जियो अरिबासले एक एक गोल गरे । पराजित टोली अल आहलीका लागि ट्युनिसियाका खेलाडी अलि मालौलले एक गोल फर्काए । खेलको ४२ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
४६ औं मिनेटमा भाल्भर्डेले गोल गर्दौ रियललाई दोब्बर अग्रता दिलाए । ६५ औं मिनेटमा मालौलले गोल गर्दै अल अहलीलाई २-१ को स्थितिमा ल्याए । इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा अरिबासले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।
जितसँगै रियलले साउदी अरबियाको अल हिलालविरुद्धको फाइनल भिडन्त तय गरेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा ब्राजिलको फ्लामेन्गोलाई हराउँदै अल हिलाल फाइनलमा पुगेको हो ।