चितवनमा सुरू भयाे अन्तर्राष्ट्रियस्तरकाे पाँचाैँ एग्रिटेक एक्सपाे (तस्बिरसहित)
एग्रिटेक प्रदर्शनीले कृषकलाई प्रविधिमैत्री बनाउन सहयोग : कृषिमन्त्री शाह
भरतपुर । चितवन प्रदर्शनी केन्द्रमा पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट सुरू भएकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले एक कार्यक्रमका बीच एक्सपाेकाे उद्घाटन गरेकी छन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा एक्सपाे सुरू भएकाे हाे ।
प्रदर्शनीको अवलोकन गर्दै मन्त्री साहले देशको समग्र अर्थतन्त्रको हिंसा ओगटेको कृषि प्रधान देश नेपालमा कृषिसँग सम्बन्धी प्रदर्शनीहरूले निकै ठुलो महत्त्व राख्ने बताइन् । उनले यस्ता प्रविधियुक्त प्रदर्शनीले सामान्य किसानदेखि ठुलो परिमाणमा व्यवसायिक कृषिसँग काम गर्दै आएका कृषकलाई परम्परागत कृषि प्रणालीबाट वैज्ञानिक कृषि प्रणालीमा लैजान महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।
उनले प्रदर्शनीमा रहेका अधिकांश कृषि सम्बन्धित स्टलहरूमा पुगी सम्बन्धित सरोकारवालाहरूसँग कृषिसँग सम्बन्धित उपकरणहरूको बारेमा जानकारी लिएकी थिइन् ।
सोही अवसरमा प्रदर्शनीको अवलोकन गर्दै मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहा, वीरगन्जस्थित भारतीय वाणिज्य दूतावास कन्सुलर जनरल नितेशकुमार, इसोचामका सहायक निर्देशक मनाङ्क शर्मालगायतले प्रदर्शनीले वास्तविक कृषकको मर्म, भावना समेट्न सक्ने भएकोले प्रदर्शनी निकै फलदायी भएको बताए ।
यसैबिच प्रदर्शनीको अवलोकन पश्चात चितवन उद्योग संघको आयोजनामा मन्त्री साहसँग कृषि उद्यमशीलतासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रदर्शनीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघलगायतका विभिन्न संघ संस्था सहयोगी संस्थाको रूपमा रहेका छन् ।
उक्त प्रदर्शनी माघ २९ गतेसम्म सञ्चालन हुने छ ।