सञ्चालनमा आयो भारतकाे मिरगञ्ज पुल, आयात व्यापार सहज
विराटनगर । भारतीय भन्सार विभागले अररियास्थित जोगवनीको मीरगन्ज पुल नेपालीका लागि पूर्ण रूपमा खुला गरेको छ । विभागले चार लेन सडकसहित परमान नदीमाथि बनेको पक्की पुल सञ्चालनमा ल्याएको हो । एक वर्ष पहिला नै निर्माण सम्पन्न भएको पुल भारतीय पक्षले रोक लगाउँदै आएको थियो । पछिल्लो पटक एक सूचना जारी गर्दै पुल सञ्चालन गर्न दिने भएको हो ।
प्रदेश १ का व्यवसायी संस्थाहरूको पहलमा नेपाल तथा भारतका नेता तथा अधिकारीको दबाबमा पुल सञ्चालनमा आएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । भारतबाट नेपाल आउने मालबहाक सवारी साधनहरूलाई उक्त पुलबाट आउने दिने गरिएको थिए । मालबाहक सवारी साधनहरू सुनसरीकाे भान्टाबारीबाट घुमेर विराटनगर भन्सार कार्यालयमा आउनु पर्ने र फर्किँदा मात्र खाली सवारी साध सो पुल भएर जान पाउँथे ।
पुल सञ्चलनको लागि दिइएको अनुमतिले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक साधनहरू ११६ किलोमिटर दुरी पार गर्दै सुनसरीको भाण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झट अन्त्य भएको उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले बताए ।
मावलबहाक सवारी साधनहरू अब ४ किलोमिटरको दुरी पार गरेपछि नेपालको आइसीपी आइपुग्नेछन् । एउटा मालवाहक सवारीले भीमनगर भान्टाबारी हुँदै घुमेर आउँदा एउटा मालवाहक सवारीले १६ हजार अतिरिक्त भाडा तिर्नु पर्ने बाध्यता आयात कर्ताले भोग्दै आएका थिए । मीरगञ्ज पुल भासिँदा एक वर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ।
जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भाण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक वर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।
भारतको पटना स्थित कस्टम विभागले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको जनाएको छ । पुल पूर्ण रूपमा सञ्चालनमा आएसँगै दैनिक दुई सयसम्म मालवाहक सवारी साधान भारतीय कस्टम हुँदै विराटनगर आइसीपीमा आउने गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।