प्रदेश सभामा प्रदेश नामकरणदेखि हात्ती आतंक नियन्त्रणसम्मका विषय प्रवेश
विराटनगर । प्रदेश १ का शून्य समय सुरु भएको छ। प्रदेश सभामा कति समय शून्य सुमयको लागि राख्ने भन्ने बारेमा कुरा नमिलेको अवस्थामा कार्यावस्था समितिले ३ मिनेट नै कायम राख्ने भएपछि शून्य समय सुरु भएको हो । बुधबारको प्रदेश सभाको शून्य समयमा बोल्दै झापाका प्रदेशसभा सदस्य एकराज कार्कीले सरकारले चालु आर्थिक वर्षको लागि पूर्वाधार विकास कोषको नाममा सांसदहरूको निर्वाचन क्षेत्रमा छुट्याएको १ करोड बजेटको बारेमा सरकारको ध्यानाकर्षण गराए ।
‘निर्वाचन पूर्वाधार विकास कोष भनेर ९० जना सांसदलाई ९० करोड छुट्याइएकोमा सरकारसँग पैसा छैन भन्ने कुरा आएको छ, उनले भने, पूर्वाधार विकास कोषको लागि छुट्याइएको बजेट रकमान्तर भएको भन्न सुनिन आएकोले त्यसको जवाफ चाहियो ।’
सांसद कार्कीले जंगली हात्ती नियन्त्रणको अभियान थाल्न सरकारसँग माग गरे । दिउँसो जंगलमा बस्ने जंगली हात्ती रातपरेपछि गाउँ पस्ने र विध्वंश मच्चाउने गरेको कार्कीले सदनलाई जानकारी गराए । झापाको विर्तामोड, अर्जुनधारा, केचनाकवल लगायतको क्षेत्रमा हात्तीको कारण निक्कै समस्या रहेको बताए । हात्ती नियन्त्रणका लागि थापिएको विद्युतीय धरापमा परेर एकजनाको मृत्यु हुँदा त्यस विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे ।
झापाकै अर्का सांसद भूमिप्रसाद राजवंशीले पनि जंगली हात्ती नियन्त्रणको लागि सरकारलाई आग्रह गरे । जंगली हात्तीको आक्रमणबाट बर्सेनि ४/५ जनाले ज्यान गुमाउँदा पनि प्रदेश सरकारले ध्यान नदिएको आरोप लगाए । राजवंशीले कचनाकवलको विकासले पूर्णता पाउन नसकेको सुनाए । सिमसार क्षेत्रमा छुट्याएका ६ करोड बजेटको कुनै पनि काम नभएको उल्लेख गरे । उनले कचना कवकलको रिङरोड निर्माणको काम हुन नसकेको भन्दै रोकिनुको कारण स्पष्ट पार्न सरकारलाई आग्रह गरे ।
पाँचथरकी सांसद मैयाँ श्रेष्ठले हावाहुरीका कारण आगलागीका घटना बढ्न सक्ने भएकोले आजै देखि तयारी थाल्न सरकारलाई आग्रह गरिन् । उनले पहाडी क्षेत्रमा अझै दमकल नरहेकोले आगलागीको जोखिम रहेका क्षेत्रहरू पहिचान गरी दमकलको व्यवस्थापन गर्नु पर्ने बताइन् । स्थानीय सरकारले व्यवस्थापन गर्ने गरी दमकल प्रदेश सरकारले उपलब्ध गराउन आग्रह गरिन् । घटना घटिसकेपछि पनि सरकारको उपस्थिति कमजोर हुने गरेको सुनाइन् । ध्यानाकर्षण गराए ।
इलामका प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले मदन भण्डारी राजमार्ग निर्माणमा अन्तरमन्त्रालय समन्वयमा समस्या देखिएको बताए । बन र उर्जा मन्त्रालयसँग समन्वयको अभावको कारण विद्युत र वन क्षेत्रमा समस्या रहेको सुनाए । खोटाङका सांसद पाँचकर्ण राईले हलेसी धार्मिक स्थलको विकासको लागि लगेको बजेटमा मिलेमतो भएको आरोप लगाए । चालु आर्थिक वर्षको लागि विनियोजन भएको ५० लाख रकम कोठामा उपभोक्ता समिति बनाएको भन्दै उनले पारदर्शी रूपमा काम हुन नसकेको बताए । बजेट कार्यान्वयनमा समस्या देखिएको भन्दै उनले सम्बन्धित वडाबाट पनि विरोध भएको भन्ने जानकारीमा आएकोले निष्पक्ष कार्यान्वयनमा लग्न उनले आग्रह गरे ।
शून्य समयमा राजन किराँती, राधाकृष्ण खनाल, शमशेर राई, शोभा चेम्जोङ सदानन्द मण्डल लगायत सांसदले आफ्ना निर्वाचनको क्षेत्रको समस्या राखेका थिए । सरकारले सदनलाई बिजनेस नदिएको, क्षेत्रको विकास निर्माणको काममा चासो नदिएको सांसदको भनाई छ। प्रदेशको नामकरणको कुरा प्रदेश सभाको शून्य समयमा बोल्दै पाँचकर्ण राईले पहिलो प्रदेश सभाबाट थाँती रहेको प्रदेशको नामाकरण चाँडै सहमतिको आधारमा टुंगो लगाउन आग्रह गरे । उनले थाती राखेको प्रदेशको नामकरणको बारेमा साझा सहमतिको साथ छिट्टै प्रारम्भ हुनु पर्ने बताए ।
‘पहिलो प्रदेशसभामा कोही सांसद ज्यूहरूले धाननाच गाउनुभयो, केहीले साकेलासीली गाउनुभयो, कोही सांसदले स्याब्रू र कसैले रोदीको धुन गाएर जानु भयो, उनले भने, हामीले यस्तो धुन गाउनु नपरोस् ।’
उनले सहमतिको आधारमा कोसी किराँत वा सगरमाथा किराँत अथवा अरू कुनै नामले सबैलाई समेट्छ त्यस्ता नाम ल्याएर छिट्टै टुङ्गोमा पुग्नु पर्ने बताए । के नाम राख्दा सबैलाई साझा नाम हुन्छ, त्यो नाम राखेर प्रदेशको नामकरण गर्नु पर्नेमा जोड दिए ।