गोंगबुको ल्होत्से मल तोडफोड गरी लुटपाट गर्ने १५ जना पक्राउ
काठमाडौँ । यातायात मजदुरको आन्दोलनको क्रममा गोंगबुको नयाँ बसपार्क स्थित ल्होत्से मलमा मोबाइल पसल तोडफोड गरी लुटपाट गरेको र प्रहरीको भ्यानमा आगजनी गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका हुन्। सामाजिक सञ्जालमा आएका भिडिओ फुटेज र अन्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौंको जरंखु बस्ने सहचालक १९ वर्षीय सुरज मगर, उदयपुर घर भई तार्केश्वर बस्ने रितेश बस्नेत र मोरङ घर भई तार्केश्वर बस्ने यमन राई रहेका छन्।
विद्यार्थी सुनिल कालिकोटे, व्यापारी रोमन नगरकोटी, विद्यार्थी सुदिप तामाङ, व्यापारी माधव शाही, सहचालकहरू केशर राई, इन्द्र तामाङ, राजन राउत, विकास गुरूङ पक्राउ परेका छन्।
चालक इलाराज गुरूङ, हरिशरण तामाङ, संविधान परियार र एक वेटर कविन खड्की पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई सामाजिक सञ्जालमा आएका भिडिओ तथा तस्बिरबाट पहिचान गरी पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान गर्न बालाजु र महाराजगन्जमा पठाएको छ। यसअघि बुधबार काठमाडौं प्रहरी परिसरले १० जनालाई पक्राउ गरेको थियो।