एआईजी बढुवाको हल्लापछि प्रदेश रित्याएर डीआईजीहरु काठमाडौंमा

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) का लागि सबैभन्दा आकर्षक पोष्टिङ हो प्रदेश कार्यालय। डीआईजी नै इन्चार्ज हुने भएकाले अरुबेला प्रदेशमा जान हारलुछ नै चल्थ्यो।

तर गएको असारमा अनौठो भयो। बरियतामा अगाडी रहेका डीआईजीहरु कोही पनि प्रदेश जान मानेनन्। सरकारले एकसाथ १७ जना एसएसपीलाई बढुवा गरेको थियो।

पहिलो नम्बरमा वशन्त कुंवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह र चौथोमा थिए दीपक थापा। पाँचौं नम्बरमा बढुवा भएका थिए श्यामलाल ज्ञवाली।

तर एकदेखि पाँच नम्बरमा बढुवा भएका डीआईजीहरु कोही पनि प्रदेश गएनन्। उनीहरुले लविइङ गरेर हेडक्वार्टरमै पदस्थापन मिलाए।

छैटौं नम्बरपछिका डीआईजीहरु मात्रै प्रदेश गएका थिए। अघिल्लो वरियताका डीआईजीहरु प्रदेश जान नरुचाउनुको एउटै कारण थियो, एआईजी बढुवा।

प्रदेशमा गएपछि सत्ता र सक्तिसँग भेटघाट नहुने भएकाले उनीहरुले राजधानि छाड्न मानेका थिएनन्। तर सरकार परिवर्तन भएसँगै राजधानी छाड्न नमानेका डीआईजीहरुलाई प्रदेशमा सरुवा गरिएको थियो। रवि लामिछानेले प्रदेशमा गरेको कामका आधारमा बढुवा गर्ने बताएर पठाएका थिए।

तर रवि लामिछाने गृहमन्त्रीबाट आउट हुनासाथ पुनः प्रहरीहरुले खुलेआम चलखेल थालेका हुन्। अहिले एआईजी बढुवाको तयारी रहेको हल्लाकाबीच ४ वटा प्रदेशका प्रहरी प्रमुखहरु एकसाथ काठमाडौं आएका छन्।

प्रदेश १ का डीआईजी श्यामलाल ज्ञवाली, बागमती प्रदेश प्रमुख दीपक थापा, सूदुरपश्चिमका अशोक सिंह र कर्णाली प्रदेश प्रमुख समेत रहेका डीआईजी भिमप्रसाद ढकाल काठमाडौं आएका हुन्।

उनीहरु केहीदिनदेखि नै काठमाडौंमा छन्। प्रहरी उच्च स्रोतका अनुसार आईजीपी धिरजप्रताप सिंह युएईबाट फर्किएपछि एआईजी बढुवा निकाल्न सक्ने आकलन गर्दै उनीहरु शक्तिकेन्द्र धाउन घर बिदा लिएर काठमाडौं आएका हुन्।

पहिलो नम्बरमा रहेका वशन्त कुंवर र दोस्रो नम्बरमा रहेका टेकप्रसाद राई भने अहिले पनि प्रदेशमै छन्। तर पछिल्लो वरियतामा रहेका डीआईजीहरु चलखेल गर्न काठमाडौं आएको स्रोतको दाबी छ।

प्रहरीको बढुवामा सधैं वरियता मिचिने प्रचलनले आफू अनुकुल सत्ता भएकाहरु काठमाडौं धाइरहेका छन्। ज्ञवाली, ढकाल र थापा एमालेसँग नजिक छन्। सिंह पहिले कांग्रेससँग निकट थिए भने अहिले माओवादीसँग लाइन मिलाइरहेका छन्।

अहिले एआईजी बढुवा भए एक महिनापछि आईजीपी बन्ने सम्भावना भएकाले घर विदा लिएरै डीआईजीहरु काठमाडौं केन्द्रीत भएका हुन्। आईजीपी धिरजप्रताप सिंह आगामी चैत ११ गते अवकास हुनेछन्। त्यसपछिको आईजीपी अब बढुवा हुने एआईजी मध्येबाट बनाइने छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *