आईसीसी विश्वकप लिग-२ : आज स्कटल्याण्डको सामना गर्दै नेपाल
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ । यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।
कीर्तिपुरखेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो ।
यसअघि यही फागुन २ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसकारण पनि स्कटल्याण्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ ।
लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र आठ खेलमा हार बेहोरेको छ । स्कटल्याड ४८ अङ्कका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरी कूल तीन खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्षस्थानमा रहनेछ ।
लिग-२ मा नेपालले अब ११ खेल्न बाँकी छ । २५ खेलमा नौ मा जित र १४ खेलमा मा हार बेहोरेको नेपाल २० अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । एकदिवशीय मान्यता पाएका विभिन्न सात एशोसिएट राष्ट सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपालाई एकदिवशीय मान्यता बनाई रहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ ।
नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवशीय विश्वकप छनोट प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवशीय मान्यता आगामी जुलाइसम्म मात्र रहनेछ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।