नाटकीय जितसँगै शीर्ष स्थानमा फर्कियो आर्सनल, लिभरपुल जित्दा चेल्सीको हार

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एस्टन भिल्लालाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ९० मिनेटपछिको इन्जुरी समयमा नाटकीय रुपमा दुई गोल थप्दै ४-२ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एस्टन भिल्लाका एमिलियानो मार्टिनेजले ९३औं मिनेटमा आत्मघाती गोल गरेका थिए भने खेलको ९८औ मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४-२ को जित दिलाएका थिए ।

यस अघि खेलको पाँचौं मिनेटमा ओले वाटकिंग्सले गोल गर्दै एस्टन भिल्लालाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १६औं मिनेटमा आर्सनलका बुकायो साकाले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलको ३१औं मिनेटमा फिलिप कोटीन्होले गोल गर्दै २–१ को अग्रता दिलाएका थिए भने खेलको ६१औं मिनेटमा आर्सनलका ओलेकजेन्डर जिंचेन्कोले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितपछि आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलको २३ खेलमा ५४ अंक भएको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ३ अंकले अगाडी रहेको छ । एस्टन भिल्ला भने २३ खेलमा २८ अंकसहित ११औं स्थानमा छ ।

अर्काे खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको छ । लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले गोल गरे । यस जितसँगै लिभरपुल २२ खेलबाट ३५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित न्यूक्यासल २३ खेलबाट ४१ अंक जोडेर चौथो स्थानमा छ ।

गएराती सम्पन्न लिगको अर्काे खेलमा साउथहम्पटनले चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्यो । साउथहम्पटनको जितमा खेलको पहिलो हाफको इन्जुरी समयमा जेम्स वार्ड प्रोजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि साउथहम्पटनको २३ खेलमा १८ अंक भएको छ र लिगमा पुछारमा रहेको छ । त्यस्तै चेल्सीको भने यो यस सिजनमा आठौँ हार हो । २३ खेलमा ३१ अंकसहित चेल्सी १०औं स्थानमा रहेको छ ।

अन्य नतिजा
वल्भ्सविरुद्ध बर्नमाउथ (०–१)
ब्रेन्टफर्डविरुद्ध क्रिस्टल प्यालेस (१–१)
एभर्टनविरुद्ध लिड्स (१–०)
ब्राइटनविरुद्ध फुलहम (०–१)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *