जनअपेक्षाहरूलाई पूरा गर्नु आजको आवश्यकता : मुख्यमन्त्री कार्की
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तह अनुसार संविधानले निर्दिष्ट गरेको अधिकारलाई जनतामा पुर्याउनु पर्ने बताएका छन् ।
७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश १ सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानले दिएको अधिकार बमोजिम संघ, प्रदेश र स्थानीय तह बिचको अन्तर सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपाली जनताका अपेक्षाहरूलाई पुरा गर्नु आजको आवश्यकता रहेको बताए । ‘नेपालको सङ्घीय शासन प्रणाली मौलिक र बिलकुलै नयाँ छ,’ उनले भने, ‘संविधान बमोजिम स्थापित प्रदेश संरचनालाई सुदृढ र जनचाहना बमोजिम अघि बढाउने सन्दर्भमा सबै राजनीतिक दल, सरोकारवाला सम्पूर्णको सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।’
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा रहेको वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शन स्वरुप नेपालको वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको कार्कीले उल्लेख गरेका छन् ।
संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुने उनले बताए ।