अनुशासन नभएका व्यक्ति खेल क्षेत्रमा नबस्नुस् : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका व्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् ।

खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले ईमान्दारीताको साथ कर्मले सफलता प्राप्त हुने बताए ।

विराटनगरमा आईतबारदेखि सुरु भएको नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पद पाउने कुरामा होडमा नलागी कामको उत्कृष्टतामा लाग्न आग्रह गरे । ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईँलाई जीवन पर्यन्त सम्झाई रहन्छ ।’

छेलो खेलेर , घुयेँत्रो हानेर, गिर खेलेर आएका पुर्खाका सन्तान भएकोले खेलमा जित्छु भन्दा पनि हार्ने डर नेपाली खेलाडीमा रहेको बताए । खेलका गतिविधि हुन नसकेको सुनाउँदै ओलीले पार्टीको समस्या र झमेला अन्त भएपछि नेपाल खेलकुद महासङले गति लिएको उल्लेख गरे । महासङ्घले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रित हुनु पर्ने बताए । खेल क्षेत्रमा देखिएका समस्या समाधान र खेल क्षेत्रको विकास गर्न एमालेले मद्दत गर्ने ओलीले आश्वासन दिए ।

‘खेलको अभ्यासले मानिसलाई अभ्यस्त बनाउँछ, उनले भने, कसरी लड्ने कसरी पछारिने अभ्यासले मानिसलाई सफल बनाउने छ। सबैभन्दा ठुलो कुरा आफ्नो काम प्रति ईमान्दार हुनु पर्छ ।’ खेलमा निष्पक्षता र न्याय दिनु पर्ने बताएका ओलीले खेलकुदमा अनुशासन नभएका व्यक्तिहरूलाई खेल क्षेत्रमा नबस्न आग्रह गरे ।

‘खेलमा आक्रमण हैन प्रतिरक्षा हुन्छ, उनले भने, शान्त स्वाभाविकता खेलाडीहरू परिआएको बेला पछि नहट्ने खालको हुन्छन् ।’ महासङले सबै खेलको समुचित विकास गर्न सक्नु पर्ने बताए ।

‘नेपाली पछाडि पर्नुको कारण भनेको जित्छु नै भन्ने आत्म विश्वास नभएकोले भएको हो, ओली भन्छन्, सगरमाथा चढ्न सधैँ नेपाली नै अगाडी हुन्छ त ?’

खेलको इतिहास १५ हजार वर्ष पुरानो
नेकपा एमालेका अध्यक्ष ओलीले १५ हजार वर्षदेखि खेलकुदको इतिहास सुरु भएको बताएका छन् ।
१५ हजार वर्ष पहिला पशुपालनको युगसँगै घोडा चराउन थालिएको इतिहास सुनाएका ओलीले घोडा चढेर सिकार खेल्दै जाँदा आवागमनको रूपमा तालिम दिएपछि घोडा सवार सुरु भएको र त्यहीँदेखि खेलको सुरुवात भएको बताए ।

‘सत्य युग हुँदै आधुनिक युगमा आउँदासम्म ८ हजार वर्षदेखि नयाँ खेलहरू विकास हुँदै आए, उनले भने, ७-८ हजार वर्ष पहिलादेखि स्विमिङको भग्नावशेष पाइन्छ ।’

उनले जीवनको लागि स्विमिङ र बाँच्नको लागि दौड अनिवार्य भएको बताए । सिंह र हरिणको कथा सुनाएका एमाले अध्यक्ष ओलीले सिंहभन्दा छिटो हरिण दौडिएन भने हरिण मर्छ हरिण भन्दा छिटो सिंह दौडिएन भने सिंह भोकै मर्छ त्यसैले दौडको अभ्यासले अभ्यस्त बनाउन सक्नु पर्ने बताए ।

ओलीले राणा, राजा र महाराजा तानासाहीहरूले खेललाई समाप्त पारेको आरोप लगाए । ‘राजा महाराजाहरूले आफैलाई कुस्ती सिकाउने गुरुलाई हत्या गरेका थिए, उनले भने, तानासाहीले अन्त्य गरेको खेलकुदको गतिविधि प्रजातन्त्र पछि सुरु भएको हो ।’

नेपाल खेलकुद महासङ्घका संयोजक पर्शुराम बस्नेतले खेल क्षेत्रको एउटा भव्य उत्सव विराटनगरमा सुरु भएको बताए । १० वर्षसम्म हुन नसकेको महाधिवेशनलाई भव्य रूपमा विराटनगरमा उद्घाटन भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *