एमालेबाट अलगिए दुर्गा प्रसाईँ, ओली समक्ष राजीनामा बुझाउँदै
काठमाडौँ । एमाले केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन् ।
उनले आजको दिनबाट आफू एमालेबाट अलग भएको मकालुखबरलाई जानकारी दिए ।
प्रसाईँले कहिदिन अघि मात्र पूर्व राजपरिवारलाई अघि सारेर झापाको मेचीबाट महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो ।
पार्टीले निर्णय नलिँदै उनी आफैँले एमालेबाट अलग भएका हुन् । उनले आज नै पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेको बताए ।
पार्टीले ०७८ मङ्सिर २६ गते प्रसाईँलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो ।
विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । भने, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई झापा स्थित घरमा बोलाएर मार्सी चामलको भात खुवाएपछि उनले थप चर्चा कमाएका थिए ।
हाल प्रसाईँ पूर्वराजसँग नजिकिएका छन् ।