गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउनु राज्यको दायित्व : राष्ट्रपति भण्डारी

हेटाैँडा अस्पतालको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउनु राज्यको दायित्व भएको बताएकी छन् ।

हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनले आधुनिक मानव जीवनमा बढेको उपभोक्तावाद, मानिसको बदलिँदो जीवनशैली तथा वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलिदै गएको भन्दै चिन्ता व्यक्त गरिन् । अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता महामारीको सामना गर्न स्वास्थ्य प्रणाली विकास र सुदृढ बनाउन राज्यले ध्यान दिनुपर्ने उनले बताइन् ।

‘जनताको स्वास्थ्यका निम्ति आधारभुत एवं विशेषज्ञ सेवा र सुविधाहरु सहजै उपलब्ध गराउन सकिनेगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं हेटौँडा अस्पतालको भवन निर्माण सम्पन्न हुनु खुसी र सन्तोषको विषय हो’, उनले भनिन्, ‘नेपालको संविधानमा नागरिकका लागि सुनिश्चित गरिएका स्वास्थ्य सम्बन्धी हकको प्राप्तिमा यस प्रतिष्ठानले सघाउ पुर्याउनेमा विश्वस्त छु ।’

सत्तरी शय्या क्षमता रहेको हेटौँडा अस्पतालको सो भवन रु ४३ करोडको लागतमा निर्माण भएको हो । अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ । मकवानपुरको हेटौँडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ । नयाँ र पुरानो गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल दुई सय शय्या पुगेको छ ।

सो अस्पतालमा हाल ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित तीन सय ८७ जना कार्यरत रहेको बताइएको छ । हाल अस्पतालमा २४सै घण्टा सिटी स्क्यान, सघन उपचार कक्ष र प्याथोलोजी सेवा उपलव्ध छ । अस्पतालमा एमआरआई, बालबालिकाका लागि एनआइसियु सेवा उपलब्ध छ भने पिआइसियु सेवा थप गर्ने तयारी भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँले जानकारी दिए ।

नयाँभवन निमार्णसँगै हेटौँडा अस्पतालले आफनो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उनले बताउनुभयो । अस्पतालबाट हाल दैनिक सात सय ५० जनाले बहिरङ्ग सेवा प्राप्त गरिरहेका अस्पताल व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *