अब बैंक ऋण लिएकाले लघुवित्तबाट कर्जा नपाउने, एक जनाले एउटा लघुवित्तबाट मात्रै कर्जा पाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले एकभन्दा बढी ऋणीलाई ऋण दिन नपाउने नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बुधबार लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो नयाँ व्यवस्था गरेको हो । अबदेखि नयाँ ऋणीलाई ऋण दिँदा एउटा ऋणीले एउटा मात्रै लघुवित्तबाट ऋण पाउने भएका छन् । यसअघि एकैजनाले धेरै ओटा लघवित्तबाट ऋण लिन पाउने व्यवस्था थियो । उक्त व्यवस्थाले ऋणको मारमा आम नागरिक परिरहेका थिए ।
तर, यस्तो नयाँ व्यवस्था आउनुअघि नै एकभन्दा बढी लघुवित्तबाट ऋण लिइसकेका ऋणीलाई नियमित तालिका अनुसार ऋण तिर्न उक्त व्यवस्थाले बाधा नपर्ने गरी यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले लघुवित्तबाट ऋण नपाउने व्यवस्था पनि उक्त संशोधन एकीकृत निर्देशनमार्फत गरिएको छ ।
‘एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्’ संशोधित व्यवस्थामा भनिएको छ ।
त्यस्तै, यसका लागि ऋणीले नै एक भन्दा बढी संस्था वा बैंक वित्तीय संस्थाबाट ऋण लिए/नलिएको स्वघोषणा गर्नुपर्ने छ । त्यस्तै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्था र लघुवित्त वित्तीय संस्था समेतबाट कर्जा लिए/नलिएको यकिन गर्नु पर्ने उल्लेख छ ।
संशोधित निर्देशनमा भनिएको छ– ‘साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा सत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।’