पोखरामा एकैरात ३ एटिएम मेसिनमा तोडफोड, २ जना पक्राउ
पोखरा । पोखरामा पुनः बैंकका एटिएम फोड्ने क्रम सुरु भएको छ । केही महिना अघि दैनिकजसो मेसिन फुटाउने गरिएकोमा पछिल्लो समय रोकिएको थियो । तर पुनः फोड्न थालेको प्रहरीले जनाएको छ ।
मंगलबार राती सवा १२ बजे रामबजारमा रहेको एनआइसी एसिया बैंकको एटिएम फुटाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर गाईघाट घर भई पोखरा १७ छोरेपाटन बस्ने २१ वर्षका सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङदी गाउँपालिका घर भई छोरेपाटन नै बस्दै आएका २१ वर्षीय लुबहादुर गुरुङ छन् । उनीहरूले एकैरात ३ वटा एटिएम मेसिन फुटाएको प्रहरीले जनाएको छ ।
मंगलबार राती साढे १ बजे पोखरा १५ वन क्याम्पस गेटमा रहेको नेपाल बैंक लिमिटेडको एटिएम र सोही ४ बजे रामबजार पेन्सन क्याम्प नजिकको सांग्रिला विकास बैंकको एटिएम फोड्नका लागि तोडफोड गरेका थिए । उनीहरूले तोडफोडसँगै कागजले सिसिटिभी क्यामेरा छोप्ने गरेको सूचना पाएपछि कास्की प्रहरीले राती नै उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा कास्की अदालतबाट १० दिनको म्याद थपी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।