ग्वार्कोमा नेपालकै पहिलो ‘फ्लाइ ओभर’ निर्माणकार्य शुरु (तस्बिरहरू)

ललितपुर । गत मंसिर २३ गतेदेखि ललितपुरको ग्वार्को चोकमा देशकै पहिलो ‘फ्लाइ ओभर’ (ग्रेट सेप्रेटेड इन्टरसेक्सन रोड) निर्माणकार्य शुरु भइरहेको छ ।

फ्लाइ ओभरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालमा बन्न लागेको यो फ्लाइ ओभरको (ग्राउन्ड क्लियरेन्स) ६ मिटरको रहनेछ । यसको कुल लम्बाई ४४५ मिटर र उचाइ ५/५ मिटरको हुनेछ ।

निर्माण शुरु भएको बढीमा दुई वर्षभित्र सम्पन्न हुने गरी एम/एस आशिष-समानान्तर (जेभी)ले ठेक्का पाएको यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) जियोकम/बीडीए/रेज ले संयुक्त रूपमा तयार पारेका हुन् । यो फ्लाइ ओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ ।

चक्रपथ विस्तार आयोजना अन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म अत्यधिक जाम हुने मुख्य तीन क्षेत्रमा फ्लाइ ओभर निर्माण गर्ने सरकारी योजना अनुसार ग्वार्को चोकमा पहिलो फ्लाइ ओभर निर्माण हुन लागेको हो ।

सडक विभागका अनुसार २४ महिनामा निर्माण सम्पन्न हुने लक्ष्य लिइएको यो फ्लाइ ओभर १७ करोड ६८ लाख रुपैयाँ लगानीमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *