मेसु परिवर्तनपछि कोशी अस्पतालमा देखिन थाल्यो सुधारको छनक

विराटनगर । एउटा कार्यालय प्रमुख परिवर्तन भएपछि त्यसको असर कार्यालयमा कस्तो पर्छ भन्ने उदाहरण कोशी अस्पताललाई हेरे पुग्छ ।

कोशी अस्पतालमा लामो समयदेखि निमित्त कार्यालय प्रमुखको भरमा चलेको छ । कोशी अस्पतालको सुधारका लागि एउटा मेडिकल सुपरिटेन्डेन्ट काम थाल्छ, अर्को आउँदा फेरि शून्यबाट सुरु गर्नु पर्ने भन्दै कर्मचारी क्षेत्रबाट कुरा उठ्दै आएको छ । पहिला हुँदै आएको कामहरू पनि पछिल्लो ५ महिना कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रूपमा लक्ष्मीनारायण यादव आएपछि सबै रोकिएको आरोप लाग्दै आएको थियो ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा यज्ञराज खरेलको करिब ६ महिनाको कार्यकालमा कोशी अस्पतालको नाममा बाहिर क्लिनिक सञ्चालन गर्ने स्वास्थ्यकर्मी तथा डाक्टरलाई कार्यालय समयमा बाहिर भेटेको पाइए कारबाही गर्ने विषय कडाइका साथ पालना भएको थियो । त्यसलाई जिल्ला प्रशासन कार्यालय मोरङले समेत सहयोग गरेको थियो । यो अभियान चलाउँदा कोशी अस्पतालमा नियमित डाक्टर भेटिने गरेकोमा डा यादव मेसु भएर आएपछि त्यसलाई उनले निरन्तरता दिन चाहेनन् । डा यादव आफैँ बाहिर क्लिनिक सञ्चालन गर्ने मध्येका एक हुन् । उनी आफैँ बाहिर जाँदा अरू स्वास्थ्यकर्मी तथा डाक्टरले उनलाई टेर्नै छाडेको अवस्थाले उनी असफल भएको कर्मचारी प्रशासन श्रोत बताउँछन् ।

कोशी अस्पतालको सुधारका लागि डा. चुमनलाल दासले सुरु गरेको कोशी अस्पताल सफाई अभियान डा खरेलको पालामा निरन्तरता दिइएको भए पनि डा. यादव मेसुमा आएपछि सरसफाइका कुनै गतिविधि नै अघि बढ्न सकेन ।

अहिले अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएको छ। मेसुमा डा रविनराज सिंहलाई नियुक्त गरेपछि केही थिती बसाल्न खोलेको देखिन्छ । कोशी अस्पतालको सुधारको लागि उनले कर्मचारीलाई चिनिने गरी आउन अनिवार्य पोसाक र परिचय पत्र हुनु पर्ने नियम लागु गरिसकेका छन् । कर्मचारीको व्यवहार सुधारको लागि सेवाग्राहीले थाहा पाउने गरी पोसाक अनिवार्य गरिएको छ । विभागीय प्रमुखहरूलाई परिपत्र जारी गर्दै मेसु डा सिंहले सरसफाइ, कर्मचारीलाई निर्धारित समयमा नै कार्यालय आउने र निर्धारित समयसम्म कार्यालयमा नै अनिवार्य बस्नु पर्ने नियम लगाएका छन् ।

‘सेवाग्राहीहरू कर्मचारीको नाममा ठगिएको भन्ने गुनासोको आधारमा कर्मचारीलाई अनिवार्य परिचय पत्रको व्यवस्था गरिएको हो,’ कर्मचारी प्रशासनका कर्मचारी भन्छन्, ‘कार्यालय समयमा नबस्ने कर्मचारी र रुखो व्यवहार गर्ने कर्मचारी निगरानीमा पर्नेछन् ।’

परिपत्रले कडाई
अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा रविनराज सिंहले अस्पतालको सुधारका लागि जारी गरेको परिपत्रमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, कर्मचारी, कार्यालय सहयोगी, स्वीपर र धोबीलाई आफ्नो कार्यमा संलग्न रहनु पर्नेमा कतिपय विभाग तथा शाखाहरूमा कर्मचारीहरू नरहने सेवाग्राहीको जनगुनासो भएकोले अस्पताल समयमा सम्बन्धित स्थानमा उपस्थित भई सेवा दिन भनिएको छ । आफ्नो परिचय पत्र र तोकिएको पोसाक सहित दैनिक रूपमा हाजिर गर्नु पर्ने भनिएको छ । कतिपय कर्मचारीले १५ दिनको हाजिरी एकै पटक आएर गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

अबदेखि बिदामा बस्नु पर्दा जस्तोसुकै कर्मचारीले अनिवार्य मेसु वा विभागीय प्रमुख वा नर्सिङ प्रमुखको पूर्व स्वीकृति लिनु पर्ने भनिएको छ। अस्पताल परिसर भित्र पान, गुट्खा, खैनी मदिरा सेवन गरेको प्रमाण सहित फेला परेमा जरिवाना गरिने मेसु सिंहले जानकारी दिए ।

‘कर्मचारी स्वयमले चुरोट, पान, पान पराग, गुट्खा, खैनी र सुर्तीजन्य वस्तु नखाने भनिएको छ,’ उनले भने, ‘सम्बन्धित वार्डका स्वीपर र कार्यालय सहयोगीहरूले तिनै सिफ्टमा सरसफाइ अनिवार्य गर्नु पर्ने नियम लगाइएको छ ।’

अभियानको रूपमा सरसफाइ कोशी अस्पतालको सुधारको कामलाई सरसफाइबाट सुरु गरिएको छ। नागरिकले थाहा पाउने गरी सरसफाइ अभियान सञ्चालन गर्नु पर्ने विषयले प्राथमिकता पाएको छ। कोशी अस्पतालको बाहिरी अवस्था सफा नहुँदासम्म नागरिकले महसुस गर्न नसक्ने निष्कर्ष सहित सरसफाइ अभियान चलाइएको कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिए ।

‘मेसु परिवर्तन भएसँगै अस्पतालका गतिविधिहरू बढेका छन्, उनले भने, हिजो नभएका कामहरू अहिले तीव्र गतिमा हुन थालेका छन् ।’

शुक्रबार बिहान ७ बजेदेखि नै जम्मा भएका कर्मचारी तथा अभियन्ताहरू कोशी अस्पतालको सरसफाइमा लागेका थिए । शुक्रवार दोस्रो दिनको सरसफाइ अभियान चलाइएको छ। दोस्रो दिनसम्म आउँदा यो अभियानलाई तीव्र पारिएको छ । बाहिरी सरसफाईले अस्पतालको अवस्था झल्काउने भएकोले सरसफाईलाई ध्यान दिइएको उनको भनाई छ ।

‘कोशी अस्पताल सरसफाइमा सबैको समान सहभागिता हुनु पर्ने गरी कर्मचारी र विभागहरूलाई पनि हरेक शुक्रबारलाई सरसफाइ दिनको रूपमा काम गर्ने गरी परिपत्र भएको भन्ने जानकारीमा आएको छ, उनले भने, यो अभियानले कोशी अस्पतालमा सरसफाइ भएन भन्नु पर्ने अवस्थामा सुधार हुने अपेक्षा गरेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *