सुवास नेम्वाङ अत्यधिक मतका साथ राष्ट्रपतिमा विजयी हुनुहुने छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उम्मेदवार बनाएका सुवासचन्द्र नेम्वाङ अत्यधिक मतले राष्ट्रपतिमा विजयी हुने बताएका छन् । ‘हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्रै नभई स्वागतको विषय बन्ने छ,’ नेम्वाङको उम्मेदवारी दर्तापछि उनले भने, ‘हरेक मतदाताका निम्ति मतदान गर्न प्रेरित गर्ने छौँ । र, अत्यधिक मतका साथ हाम्रो उम्मेदवार विजयी हुने विश्वास छ ।’
वर्तमान सरकार गठनगरेकै बेला पुस १० गते नै यसबारे टुंगो लागिसकेको भन्दै उनले त्यतिबेलाका सबै दलले आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरे ।
‘अत्यन्तै अनुभवी, कानुनवेत्ता, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी निर्माण गर्नुभएको, संविधान सभा अध्यक्षको हैसियतले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका माननीय सुभाषचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएका छौँ,’ उनले भने, ‘आफूहरुले दलीय स्वार्थ नभई राष्ट्रिय हितका लागि नेम्वाङलाई उम्मेदवार बनाएका हौँ ।’