ओलीलाई प्रचण्डले भने– गणतन्त्रलाई आत्मसात गर्न नसकेकासँग सहयात्रा गर्न सकिएन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय सहमतिको सुत्रधार बन्नुपर्छ भन्दा ओलीले नमानेको बताएका छन् । तर, ८ दलको बीचमा भएको सहमति राष्ट्रिय सहमति नै भएको बताए ।

‘अब एमाले पनि कतै जान सक्ने अवस्थामा छैन,’ उनले भने, ‘एमाले प्रतिपक्षमा त जान सक्छ । राप्रपाका मन्त्रीहरुले राजीनामा दिनु भयो । एमालेका सभामुख हुनुहुन्छ । उहाँ हट्ने होइन । अब यो सरकार भत्किन्छ । अर्को सरकार गठन हुन्छ । यो प्रक्रियामा त जानु नै छ ।’

उनले लोकतन्त्र र राष्ट्रको हितविपरीत कोही कसैसँग झुक्नु हुन्न भन्ने धारणा राख्ने अनुभवि पाको नेताको छवि बनाएकाले नै कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको उनले बताए ।

आफू प्रधानमन्त्री भएका बेला केही शक्ति हौसिएर संविधानले नचिनेको नारा लगाएको समेत उनले बताए । गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संविधानले नचिनेका नारा लागेको भन्दै त्यसप्रति आपत्ति जनाए । गणतान्त्रिक नेपालको संसदले सर्वसम्मत रुपमा पारित गरेको संविधानले राजामहाराजालाई ठाउँ नदिएको भन्दै राजा आउनु पर्ने नारा लाग्नु आपत्तिजनक रहेको बताए ।

महेन्द्रनारायण निधिको १०१ औँ जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा उनले बताए ।

लोकतन्त्रलाई सुदृढ गर्न र जनताको आकांक्षालाई सम्बोधन गर्दा स्वभाविक कोर्ष के हुन सक्छ भनेर सोच्दा १२ बुँदे शान्ति सम्झौताका सहयात्री दलहरु मिलेर अघि बढे मात्रै देशलाई स्थायित्व तथा विकास र समृद्धि दिन सकिन्छ भन्ने लागेको उनले बताए ।

गणतन्त्र र संघीयतालाई आत्मसात गर्न नसक्ने दलहरुसँग सहकार्य गर्दा धेरै अप्ठ्यारा आएको आफूले २ महिनामै भोगेको पनि उनले बताए ।

नेपालको अर्थतन्त्रमा केही महिनादेखि सुधारका संकेत देखिए पनि अर्थतन्त्र पुरै सुधार हुन नसकेको समेत उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *