प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको तय भइसकेको विदेश भ्रमण रोकिदिएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा भाग लिन मन्त्री पौड्याल आज जेनेभा जाने कार्यक्रम थियो ।
परराष्ट्रमन्त्री पौड्यालका अनुसार बिहानसम्म जाने भनेर तयारीमा थिएँ, साँझ अचानक प्रधानमन्त्री प्रचण्डले खबर पठाएपछि म सो कार्यक्रममा गइनँ ।
यसअघि आइतबार बिहान भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका क्रममा राष्ट्रिय मानवअधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् ।
मानवअधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानवअधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।
मन्त्री पौडेल जेनेभाबाट दोहा आउने र त्यहाँ अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो । तर आज आइतबार नै उनको भ्रमण रोकिएको छ ।
यता अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड भने शुक्रबार कतार जाने कार्यक्रम रहेको छ ।